काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले वर्तमान सरकार संविधानप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।
बिहीबार अर्थ मन्त्रालयमा भएको अन्तरसरकारी वित्त परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले संविधानको इमान्दारीपूर्वक कार्यान्वयन गर्दै आवश्यक सुधारहरू पनि संवैधानिक व्यवस्थाभित्रै रहेर गरिने बताए ।
उनका अनुसार बाहिर केही वृत्तमा सरकारसँगको बहुमतका आधारमा संविधान परिवर्तन वा हटाउने प्रयास हुन सक्ने आशंका व्यक्त भए पनि त्यो धारणा गलत हो । उनले सरकार संविधानको सीमाभित्रै रहेर अघि बढ्ने स्पष्ट गरे ।
अर्थमन्त्री वाग्लेले चित्त नबुझेका प्रावधानहरू संविधानमै रहेका संशोधन प्रक्रियाअनुसार नै परिमार्जन गरिने उल्लेख गरे । उनले संविधानको धारा २७४ ले संविधान संशोधनको विधि तय गरेको र धारा २७५ ले जनमतसंग्रहसम्बन्धी व्यवस्था गरेको स्मरण गराउँदै सोही ढाँचाभित्र रहेर सरकार अघि बढ्ने बताए ।
संघीय संरचना, प्रदेश तथा स्थानीय तहको संख्या, आकार र क्षमताजस्ता विषयमा पनि संविधानको फ्रेमबाहिर गएर कुनै निर्णय नहुने उनको भनाइ थियो ।
‘संविधानप्रति अहिलेको सरकार पूर्ण बफादार छ। चित्त नबुझेका विषयहरू संविधानमै रहेको प्रक्रियाअनुसार सुधार गर्छौँ, ‘उनले भने, ‘संविधान फाल्ने होइन, यसैभित्र रहेर सुधार गर्ने नीति हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया