अर्थमन्त्री वाग्लेसँग व्यवसायीको भेटवार्ता, सहुलियतपूर्ण कर्जा र नीतिगत सुधारको माग

लोकपथ
70
Shares

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरी साना तथा मझौला व्यवसायीका समस्याप्रति संवेदनशील हुन आग्रह गरेको छ ।

महासंघको टोलीले अर्थ मन्त्रालय पुगेर करिब एक घण्टा लामो छलफल गर्दै मुलुकको वर्तमान आर्थिक शिथिलता, व्यापार–व्यवसायमा देखिएको मन्दी र व्यवसायीले भोगिरहेका विविध समस्याबारे ध्यानाकर्षण गराएको हो ।

महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले वर्तमान व्यापारिक अवस्था निकै नाजुक रहेको जानकारी दिँदै अहिले व्यवसाय विस्तारभन्दा जीविकोपार्जनमै सीमित भएको बताए । यद्यपि नयाँ सरकार गठनसँगै व्यवसायीहरूमा आशा जागेको उनको भनाइ छ ।

भेटका क्रममा व्यवसायीहरूले बैंक तथा वित्तीय क्षेत्रमा रहेको तरलतालाई साना व्यवसायीसम्म पुर्‍याउन बिनाधितो करिब ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन माग गरेका छन् ।

त्यस्तै, अधिकतम खुद्रा मूल्य (एमआरपी) व्यवस्थापनलाई व्यवहारिक बनाउन, हाल मौज्दात रहेका स्टक तथा उत्पादित वस्तुको सहज बिक्रीका लागि नीति स्पष्ट गर्नुपर्ने सुझाव पनि दिइएको छ ।

महासंघले घरभाडा नीतिमा पनि सुधार आवश्यक रहेको उल्लेख गर्दै सहर र गाउँको वर्गीकरण गरी ‘स्क्वायर फिट’का आधारमा वैज्ञानिक घरभाडा प्रणाली लागू गर्न आग्रह गरेको छ ।

भन्सार नाकाहरूमा तयारी मालवस्तु आयात गर्दा हुने झन्झटिलो प्रक्रिया, दररेट र अव्यवस्थालाई सुधार गरी आयात–निर्यातलाई सहज बनाउन पनि व्यवसायीहरूले ध्यानाकर्षण गराएका छन् ।

छलफलमा अर्थमन्त्री वाग्लेले साना तथा मझौला व्यवसायीका समस्यालाई आगामी बजेटमार्फत सम्बोधन गर्ने र व्यवसायमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महासंघका अनुसार यसपटकको भेटघाटमा अर्थमन्त्रीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको र व्यवसायीका मुद्दालाई गम्भीर रूपमा लिइएको अनुभव गरिएको छ । साथै, आर्थिक नीति निर्माणमा साना व्यवसायीका संगठनलाई पनि समावेश गरिने संकेत दिइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?