काठमाडौंको सडक मानवमुक्त अभियान : पशुपति क्षेत्रमा ‘स्क्रिनिङ सेन्टर’ स्थापना गरिने

लोकपथ
77
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा अलपत्र परेका बेसहारा तथा सहयोगापेक्षी व्यक्तिहरूको उद्धार तथा व्यवस्थापन अभियानलाई तीव्र बनाएको छ ।

कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा पशुपति क्षेत्रसहित विभिन्न स्थानमा उद्धार कार्य जारी रहेको महानगरले जनाएको छ ।

महानगरले उद्धार गरिएका व्यक्तिहरूलाई सिधै आश्रममा नलगी प्रारम्भिक रूपमा ‘स्क्रिनिङ सेन्टर’मा राखेर अवस्था अनुसार वर्गीकरण गर्ने नयाँ प्रक्रिया सुरु गरेको छ । परिवार भएका व्यक्तिहरूलाई पुनर्मिलन गराइने, अशक्तलाई अस्पताल पठाइने तथा मानसिक स्वास्थ्य समस्या भएकालाई विशेष उपचार केन्द्रमा पठाइने व्यवस्था मिलाइनेछ ।

पशुपति क्षेत्र विकास कोषसँगको समन्वयमा पशुपति परिसरमै छुट्टै ‘डेडिकेटेड स्क्रिनिङ सेन्टर’ स्थापना गर्ने सहमति भएको पनि महानगरले जनाएको छ । सो सेन्टरमार्फत उद्धार गरिएकाहरूको आवश्यक सेवा निर्धारण गरिनेछ ।

कार्यवाहक प्रमुख डंगोलले सडकमा बस्दा देखिने व्यवहारगत समस्या, मदिरा तथा लागुऔषधको लत र अनुशासनमा बस्न कठिनाइका कारण पुनः सडकमा फर्किने प्रवृत्ति देखिएको भन्दै त्यसका लागि काउन्सिलिङ र पुनःस्थापना कार्यक्रम आवश्यक रहेको बताए ।

उनले यो अभियानलाई पशुपति क्षेत्रसँगै कालिमाटी, स्वयम्भू लगायतका अन्य क्षेत्रमा पनि विस्तार गरिने र काठमाडौंलाई सहयोगापेक्षी सडक आश्रित मुक्त शहर बनाउने लक्ष्यसहित निरन्तर अघि बढाइने जानकारी दिए ।

अभियानमा मानव सेवा आश्रम, पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा महानगर प्रहरीको संयुक्त सहभागिता रहेको छ । पशुपति क्षेत्रको उद्धार अभियानमा गायिका तथा समाजसेवी आनी छोइङ डोल्माको समेत सहभागिता रहेको थियो ।

उनले सडकमा रहेका व्यक्तिहरूको समस्या केवल आर्थिक नभई मनोवैज्ञानिक पनि भएको उल्लेख गर्दै दीर्घकालीन काउन्सिलिङ र सामाजिक पुनःस्थापनामा जोड दिनुपर्ने बताइन् ।

महानगरका अनुसार उद्धार कार्य निरन्तर सञ्चालन हुने र आवश्यक परेका व्यक्तिहरूलाई उपचार, पुनर्मिलन वा आश्रममार्फत सुरक्षित व्यवस्थापन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?