पार्टीलाई प्रविधिमैत्री बनाउने तयारीमा कांग्रेस, डिजिटल प्रणाली लागू हुँदै

लोकपथ
56
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई आधुनिक र प्रविधिमैत्री बनाउन सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गरिने बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले डिजिटल नवीकरणमार्फत सदस्यहरूको क्षमता पहिचान गरी जिम्मेवारी तोक्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

महामन्त्री पौडेलले सदस्यता अभिलेख हटाउने कुरा सत्य नभएको स्पष्ट गर्दै पुराना विवरणलाई व्यवस्थित र सुरक्षित रूपमा डिजिटल प्रणालीमा राखिने बताए । उनले कुन सदस्य कहिले पार्टीमा आवद्ध भयो, उसको क्षमता के हो र उपयुक्त जिम्मेवारी के हुन सक्छ भन्ने कुरा अब प्रविधिमार्फत स्पष्ट हुने उल्लेख गरे ।

उनले पार्टी एकता र अनुशासनमा जोड दिँदै निर्वाचनपछि पार्टी जनमतका हिसाबले केही कमजोर देखिएकाले अहिले एकताको आवश्यकता झनै बढेको बताए । साथै, डिजिटल प्रणालीले सदस्य–सदस्यबीच तथा पार्टी तहहरूबीच समन्वय सहज बनाउने उनको भनाइ थियो ।

महामन्त्री पौडेलले आगामी अधिवेशनलाई व्यवस्थित, विधिसम्मत र पूर्वाग्रहरहित ढंगले सम्पन्न गर्न वर्तमान नेतृत्व तयारीमा रहेको जानकारी दिँदै सबै नेता–कार्यकर्तालाई सहयोग गर्न अपिल गरे । उनले अग्रज नेताहरूको अनुभवलाई पार्टी सुदृढीकरणमा उपयोग गरिने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?