सञ्चार मन्त्रालयको नयाँ आचारसंहिता : फाइल वा काम डेस्कमा आएपछि २४ घण्टाभित्र टुंग्याउनुपर्ने

लोकपथ
70
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेवा प्रवाहलाई प्रभावकारी र छिटो बनाउन नयाँ कार्य आचारसंहिता लागू गरेको छ ।

मन्त्रालय तथा मातहतका सबै निकायमा कार्यरत कर्मचारीका लागि लागू गरिएको नयाँ व्यवस्थाअनुसार अब कुनै पनि फाइल वा काम कर्मचारीको डेस्क वा प्रणालीमा पुगेपछि सोही दिन, सम्भव नभए अर्को दिनभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ ।

मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटीका अनुसार कर्मचारीलाई सुम्पिएको जिम्मेवारी छिटो, छरितो र गुणस्तरीय ढङ्गले सम्पन्न गराउन तथा सेवा प्रवाहलाई जवाफदेही बनाउन यो व्यवस्था लागू गरिएको हो ।

नयाँ नीतिअनुसार तोकिएको समयभित्र काम सम्पन्न हुन नसकेको अवस्थामा त्यसको कारणसहित सम्बन्धित कर्मचारीले तत्काल आफ्नो सुपरिवेक्षकलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।

यसैगरी, आचारसंहिता प्रभावकारी बनाउन कर्मचारीहरूबाट प्रतिवद्धतापत्रमा हस्ताक्षर गराउने व्यवस्था गरिएको छ । यसको कार्यान्वयन सुनिश्चित गर्ने जिम्मेवारी कार्यालय प्रमुखलाई दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले साथै स्रोतसाधनको प्रयोगमा मितव्ययीता अपनाउन मातहतका निकायलाई निर्देशन समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?