ललितपुर । चिरिबाबु महर्जनले ललितपुर महानगरभित्र सञ्चालन हुने साझा बस सेवालाई पूर्ण रूपमा निःशुल्क बनाउने प्रस्ताव अघि सारेका छन् ।
साझा यातायातद्वारा सञ्चालित नयाँ रुटको शुभारम्भ कार्यक्रममा बोल्दै उनले सार्वजनिक यातायातलाई सेवामुखी र दिगो बनाउन निःशुल्क सेवा आवश्यक रहेको धारणा राखे । उनका अनुसार प्रारम्भिक तीन महिनासम्म सञ्चालन खर्च साझा यातायातले नै व्यहोर्ने सहमति भएको छ भने त्यसपछि सम्बन्धित स्थानीय तहहरूले प्रो–र्याटा (दामासाही) आधारमा खर्च बेहोर्ने व्यवस्था छ ।
तर मेयर महर्जनले तीन महिनापछि यात्रुबाट शुल्क लिने सट्टा महानगरले नै सम्पूर्ण खर्च व्यहोरेर सेवा निःशुल्क बनाउनुपर्ने बताए । उनले भने, ‘विश्वका धेरै मेट्रो सिटीमा सार्वजनिक यातायात निःशुल्क छ, हामीले पनि यस्तो अभ्यास गर्नुपर्छ । सेवा कुनै पनि हालतमा रोकिनु हुँदैन ।’
कार्यक्रममा काठमाडौं, ललितपुर, चन्द्रागिरी र बुढानीलकण्ठ नगरपालिकाबीच समन्वय तथा सहकार्यसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरी रात्रीकालीन बस सेवा सुरु गरिएको हो । सेवा अन्तर्गत अब राति पनि वाइफाईसहित बस सञ्चालन हुनेछ ।
काठमाडौं, ललितपुर, चन्द्रागिरी र बुढानीलकण्ठ जोड्ने गरी सुरु गरिएको यो सेवामा प्रारम्भिक चरणमा ७ वटा बस सञ्चालनमा ल्याइएको छ ।
बसमा यात्रु सुरक्षाका लागि सीसीटिभी क्यामेरा जडान गरिएको छ भने नियन्त्रण कक्षबाट निगरानी गरिने व्यवस्था मिलाइएको छ । साथै, यात्रुको सुरक्षाका लागि हरेक बसमा नगर प्रहरी पनि खटाइनेछ ।
साझा बस सेवालाई दीगो र विस्तार गर्न आगामी बजेटमा आवश्यक स्रोत सुनिश्चित गर्ने प्रतिबद्धता पनि स्थानीय तहका प्रतिनिधिहरूले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया