ट्रकको ठक्करबाट ट्राफिक प्रहरी निरीक्षक लामाको निधन

लोकपथ
329
Shares

काठमाडौं । दुई दिनअघि ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक अभय लामाको निधन भएको छ । ललितपुरको ग्वार्काेस्थित बीएन्डबी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । 

आइतबार राति सवा ११ बजे तारकेश्वर नगरपालिका–८ डाँडागाउँस्थित सडकमा उनी सवार बाप्र०२–०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बाप्र ०३–००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ३६ वर्षीय प्रहरी निरीक्षक लामा नेपालटारबाट फुटुङतर्फ जाँदै थिए । रामेछाप घर भएका उनी तारकेश्वर–७ स्थित फुटुङ बस्दै आएका थिए ।

उनलाई उद्धार गरी उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएकोमा त्यहाँबाट थप उपचारका लागि बीएण्डबी अस्पताल रिफर गरिएको थियो । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले उपचारको क्रममा उनको निधन भएको जानकारी दिए । लामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत थिए । 

२०७२ सालमा प्रहरी जवानमा भर्ना भएका लामाले खुला प्रतिस्पर्धाद्वारा प्रहरी सहायक निरीक्षक र पछि फेरि खुला प्रतिस्पर्धाबाटै प्रहरी निरीक्षकमा नाम निकालेका थिए ।

उनलाई ठक्कर दिने ट्रक चालक मकवानपुरको मनहरी–५ का ३८ वर्षीय राम मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?