थापाथली सुकुम्वासी बस्ती : बालेन प्रधानमन्त्री बनेपछि समाधानको नयाँ अपेक्षा

लोकपथ
147
Shares

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा अवस्थित सुकुम्वासी बस्ती फेरि एकपटक चर्चामा आएको छ । आधुनिक कङ्क्रिटका अग्ला भवनहरूले घेरिएको क्षेत्रबीच नीलो–सेतो त्रिपाल, जस्तापाता र काठका फल्याकले बनेका अस्थायी झुप्राहरू अझै यथावत् छन्  । 

नदी किनारको जोखिमपूर्ण क्षेत्रमा फैलिएको यो बस्तीले दीर्घकालीन रूपमा बसोबास, स्वास्थ्य र वातावरणीय चुनौतीहरू निम्त्याउँदै आएको छ । बागमती नदीको प्रदूषित र दुर्गन्धित पानीले पनि यहाँको जीवनयापन थप कठिन बनाएको छ ।

विगतमा काठमाडौं महानगरपालिकाका मेयर रहँदा बालेन्द्र शाह (बालेन) ले उक्त क्षेत्रका अतिक्रमित संरचना हटाउने प्रयास गरेका थिए । तर संघीय सरकारको समन्वय अभाव र स्थानीयवासीको प्रतिरोधका कारण त्यो अभियान सफल हुन नसकेको बताइँदै आएको छ ।

त्यति बेला उनले प्रहरी प्रशासन र संघीय निकायबाट आवश्यक सहयोग नपाएको गुनासो गरेका थिए ।

हाल बालेन्द्र शाह प्रधानमन्त्रीको भूमिकामा पुगेपछि थापाथली बस्ती व्यवस्थापनबारे फेरि चासो बढेको छ । अब गृह प्रशासन, सुरक्षा निकाय र सम्बन्धित मन्त्रालयहरू प्रत्यक्ष उनको मातहतमा रहेका कारण समस्या समाधानमा नयाँ बाटो खुल्ने अपेक्षा गरिएको छ ।

विश्लेषकहरूका अनुसार अब सरकारले बलपूर्वक हटाउने विकल्प अपनाउँछ वा दीर्घकालीन पुनर्वास र मानवीय व्यवस्थापनको नीति अघि बढाउँछ भन्ने विषय निर्णायक हुनेछ ।

थापाथलीको यो बस्ती व्यवस्थापनमा हुने निर्णयले सरकारको नीति मात्र नभई प्रधानमन्त्रीको नेतृत्व क्षमतासमेत परिक्षण गर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?