काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नयाँ वर्षलाई केवल पात्रो फेरिएको दिनका रूपमा मात्र नलिन आग्रह गरेका छन् ।
नववर्ष २०८३ को सुखद अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस दिनलाई नयाँ कामको थालनी, सकारात्मक सोचको विकास र स्वस्थ जीवनशैलीका लागि संकल्प गर्ने उत्सवका रूपमा मनाउनुपर्नेमा जोड दिएका हुन्। नयाँ वर्षले व्यक्तिगत जीवनमा अनुशासन र स्थिरता ल्याउने विश्वास उनले व्यक्त गरेका छन् ।
उपराष्ट्रपति यादवले सामाजिक र सांस्कृतिक स्तरमा अपनत्व र भाइचारालाई मजबुत बनाउन नयाँ वर्ष एउटा कडी हुने उल्लेख गरे ।
उनले आर्थिक उन्नति, शिक्षा, स्वास्थ्य र वातावरण संरक्षण जस्ता साझा चुनौतीहरूमा एकजुट भएर अगाडि बढ्न सबैलाई आह्वान गरेका छन् । विशेषगरी जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि दृढ संकल्प लिनुपर्ने उनको भनाइ छ। संविधानले परिकल्पना गरेको समानुपातिक प्रतिनिधित्व र सुशासनको मार्गमा हिँड्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन नयाँ वर्षले सबैलाई प्रेरणा दिने उनले आशा व्यक्त गरेका छन् ।
आफ्नो सन्देशमा उपराष्ट्रपतिले तराई–मधेस क्षेत्रमा हर्षोल्लासका साथ मनाइने ‘सतुवाइन’, ‘जुड्शीतल’ र ‘सिरुवा पावनी’ लगायतका मौलिक पर्वहरूको चर्चा गरेका छन् । साथै काठमाडौं उपत्यकाको प्रसिद्ध ‘विस्का जात्रा’ को पनि उनले विशेष स्मरण गरेका छन् । यी पर्व र जात्राहरूले नेपालीहरूबीच आपसी मेलमिलाप र सद्भाव बढाउनुका साथै नेपालको सांस्कृतिक विविधता र ऐतिहासिक गौरवलाई विश्वसामु उजागर गर्ने उनले बताए ।
नेपालको मौलिक पहिचानलाई यस्ता विशेष अवसरहरूले नै बलियो बनाउने उपराष्ट्रपतिको ठम्याइ छ । सिरुवा पावनीमा देखिने पारिवारिक आत्मीयता र विस्का जात्रामा हुने समुदायको सक्रिय सहभागिताले हाम्रो सांस्कृतिक विरासतलाई पुस्तान्तरण गर्न ठूलो मद्दत पुग्ने उनले उल्लेख गरे । अन्त्यमा, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको सुस्वास्थ्य र प्रगतिको कामना गर्दै नयाँ वर्षले राष्ट्रिय एकतालाई थप जीवन्त बनाउने विश्वास उनले दिलाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया