काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सुन,चाँदी खरिदका लागि पूर्ण रूपमा खुला गर्नुपर्ने बताएका छन् ।
कांग्रेसको केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूले काठमाडौंमा सुनको व्यापार गर्नेहरूलाई बोलाएर सोध्दा चोरीको सुनबाट गहना बनाउनुपरेको गुनासो गरेको भन्दै नेपालमा सुन पूर्ण रूपमा खुला गर्नुपर्ने बताए । उनले आफू प्रधानमन्त्री रहेको बेलामा पनि आफूले सुन पूरा रूपमा खोलेको बताउँदै सुन पूर्ण रूपमा खोल्न रोक्न नहुने उनको भनाइ छ । पूर्ण रूपमा खोल्दा चोरी हुन नसक्ने र बिचौलिया, बद्मासी र तस्कर गर्नेहरूलाई फाइदा नहुने जिकिर गरे । सुन पूर्ण रूपमा नखोल्नु बद्मासी भएको भन्दै मानिसहरू नोटमा विश्वास नगर्ने तर सुनमा विश्वास गर्ने गरेको उल्लेख गरे ।
सभापति देउवाले भने, ‘मैले काठमाडौंका सुन व्यापारीहरूलाई बोलाएर सोधेँ । उहाँहरूले चोरीको सुनले बनाउनुपरेको छ भन्दै हुनुहुन्छ । सुन खोल्नलाई किन रोक्नुपर्यो । मैले खोलेकै हो पहिला सुन । मेरो कुरा भनेको सुन पूरै खोलिदिने । चोरी पनि हुँदैन केही पनि हुँदैन । सुन किन रोकिरहेको छ ? यो बदमासीपूर्ण कुरा हो । नेपालीहरू सबैले गहना लगाउँछ, हामी कहाँ धेरै गहना महिलाहरूले लगाउँछ, अरूले पनि लगाउँछ । गहना आवश्यक छ । नेपालमा सुनचाँदी अहिले पनि साँच्चै भन्ने हो भने नोटमा कोही विश्वास गर्दैन सुनमा विश्वास गर्दछ, के गर्नुहुन्छ ? नेपालमा सुन र चाँदी पूराका पूरा आउन दिनुपर्छ । रोक्नुहुँदैन । बिचौलिया, बद्मासी र तस्कर गर्नेहरूलाई फाइदा हुन्छ । सुन पूरा खोल्नुपर्छ भन्ने मेरो धारणा छ । त्यो खोल्नुपर्छ ।’
सभापति देउवाले भ्रष्टाचार रोक्न अझै व्यापक छलफल गरेर भ्रष्टाचार न्यूनीकरणमा जोड दिनुपर्ने बताए । अहिले नेपालमा व्यापारीहरूले दैनिक २० किलोसम्म सुन आयात गर्न सक्ने नीतिगत व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया