काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच असल सम्बन्ध स्थापित गरी वित्त र मौद्रिक नीतिको समन्वयमार्फत अर्थतन्त्र सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
चाणक्य मिडिया प्रालिले आज आयोजना गरेको ‘पूर्व–मौद्रिक नीति छलफल’ मा अर्थमन्त्री पौडेलले सरकारले ल्याउने आर्थिक तथा वित्त नीति र केन्द्रीय बैंकले ल्याउने मौद्रिक नीतिबिच सामञ्जस्यता तथा समन्वय, समान उद्देश्य प्राप्तिलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा बताएका हुन् ।
‘अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक तथा वित्त नीति र मौद्रिक नीति बिचको आपसी सन्तुलन कायम भएन भनेर छलफल तथा चर्चाको विषय हुने गरेको छ,‘अर्थमन्त्री पौडेलले भने, ‘मन्त्रालय र राष्ट्र बैंकका बिचमा कुनै असमझदारीको परिकल्पना हाम्रो राज्य प्रणालीले गरेको छैन । यी दुई संस्थाका पदाधिकारीबिचमा घनिष्ठ, जीवन्त सम्बन्धको परिकल्पना गरिएको छ ।’ विद्यमान व्यवस्था र राज्य प्रणालीले वित्त नीति र मौद्रिक नीतिबिच उचित सन्तुलन र संयोजनको अपेक्षा गरेको उनको भनाइ छ । मौद्रिक सुशासन खस्किँदै गएको बारे आलोचना बढिरहेको पनि उनले उल्लेख गरै । ‘मौद्रिक सुशासनका सवालमा केही प्रश्नहरू उठ्ने गरेका छन् । सुशासनका प्रश्नमा हामी कहाँ चुकेका छौँ र मौद्रिक व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि हामीले के गर्नुपर्छ भन्नेमा चनाखो हुनुपर्छ,‘ अर्थमन्त्री पौडेलले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया