दुर्गा प्रसाईं भारतमा ठाउँ फेरेको फेर्यै, प्रहरी पिछा गरेको गर्यै

लोकपथ
5.6k
Shares

काठमाडौं । विवादित मेडिकल व्यवसायी एवं राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं चैत १५ को तीनकुने घटनापछि भागेर सुरुमा भारतको उत्तर प्रदेशस्थित प्रयागराज पुगेको खुलेको छ ।

त्यस दिन प्रहरीको आँखाबाट तीनकुनेबाट एकाएक गायब भएका उनी त्यसपछि गुरु पुष्कर खतिवडाको घर पुगेको खुलेको थियो । प्रसाईं त्यही दिन राति फलफूल खाएर पुष्करको घरबाट बाहिरिएका थिए ।

आफूलाई पक्राउ गर्न प्रहरीले खोजी गरिरहेको थाहा पाएपछि उनी भारतको प्रयागराज पुगेका थिए । त्यहाँ केही दिन बसेर उनी लखनउ गएका थिए । नेपाल प्रहरीको टोली आफ्नो खोजीका निम्ति आएको थाहा पाएपछि उनी भागेर नयाँ दिल्ली पुगेका थिए । दिल्लीमा उनले भारतीय हिन्दु संगठन आरएसएसका केही उच्च तहका नेताकामा आश्रय मागेका थिए । तर, उनको कुरा त्यहाँ सुनुवाइ भएन । त्यसपछि आफूलाई असुरक्षित ठान्दै उनी भारतकै राजस्थान पुगे । त्यहाँ केही दिन बसेर उनी असम पुगेका थिए ।

एकातिर उनी दिनहुँजसो ठाउँ फेर्दै थिए, उता प्रहरीले उनको पिछा गरिरहेको थियो । प्रहरी प्रधान कार्यालयले उनको खोजीका लागि विशेष ब्युरोका प्रमुख एवं डीआईजी सिद्धिविक्रम शाहलाई खटाएको थियो । शाह नेतृत्वको प्रहरी टोली भारतका विभिन्न सहर पुगेर उनको खोजी गरेको थियो ।

यस्तै, उपत्यका अपराध अनुसन्धान कार्यालयको एसपी अंगुर जिसीको कमान्डको टोलीले पनि भारतका विभिन्न ठाउँमा उनको खोजी गरेको थियो ।

अन्ततः उनलाई नेपाल प्रहरीको विशेष ब्युरोको टोलीले प्रसाईंलाई भारतको असामबाट पक्राउ गरेको हो । बिहीबार साँझ ब्युरोको टोलीले प्रसाईं र उनका अंगरक्षक दीपक खड्कालाई असामको बास्काबाट पक्राउ गरेको थियो ।

पक्राउपछि उनलाई आज बुद्ध एयरबाट काठमाडौं ल्याइसकिएको छ । असामबाट झापा ल्याइएका उनलाई भद्रपुर विमानस्थलबाट काठमाडौं ल्याइएको हो ।

अब प्रसाईंमाथि ज्यान मार्ने उद्योग, संगठित अपराध, आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा अनुसन्धान हुने भएको छ ।
त्यस दिन प्रदर्शनकारीलाई हिंस्रक बन्न उचालेका प्रसाईं आफैँले पनि सयौँ प्रहरीको भिडलाई किचौँलाझैँ गाडी कुदाएका थिए । त्यहाँ प्रहरीलाई मारौँला झैँ उनले गाडी कुदाएकोले उनीमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान अघि बढाइने भएको हो ।

यस्तै, प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेको घटनालाई लिएर उनीमाथि संगठित अपराधको मुद्दामा पनि अनुसन्धान हुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?