काठमाडौं । धितोपत्र बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि आवेदन खुला गरेको छ ।
गत फागुन १२ गते सूचना प्रकाशित गर्दै एक साताभित्र अर्थात् फागुन १८ गतेभित्र योग्यता पुगेका आवेदकहरुले आवेदन दिन सक्नेछन् ।
आवेदकले अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा आवेदन दिन आग्रह गरिएको छ ।
धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १६ को कम बमोजिम योग्यता पुगेका आवेदकहरुले आवेदन दिन सक्नेछन् । जसका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि तथा वाणिज्य वा कानून विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर वा चार्डर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरेको व्यक्ति योग्य मानिनेछन् । त्यसको साथै पूँजीबजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तिमा सात वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तिमा पन्ध्र वर्षको कार्यअनुभव भएको हुनुपर्ने बताइएको छ ।
साथै नेप्सेको सीईओका लागि ३० वर्ष पूरा भई पैसट्ठी वर्ष ननाघेको व्यक्ति योग्य मानिनेछन् ।
त्यस्तै प्रचलित कानुन बमोजिम कालोसूचीमा समावेश भई त्यस्तो सूचीबाट फुकुवा भएको अवधि तीन वर्ष पूरा नभएको हुनुपर्ने र कुनै विदेशी मुलुकमा स्थायी आवासीय अनुमति प्राप्त गरेको व्यक्तिले आवेदन दिन पाउनेछैनन् ।
यसअघि कृष्णबहादुर कार्की नेप्सेको सीईओ रहेका थिए । उनको कार्यकाल गत फागुन २ गते नै सकिएको थियो । त्यसयता नेप्से प्रमुखवीहिन बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया