प्रकृति लम्सालको परिवारलाई प्रधानमन्त्रीको ढाडस : ‘हामी छौँ, सम्हालिनुस्’ (वार्तासहित)

लोकपथ
4.9k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उडिसा राज्यस्थित किट विश्वविद्यालयमा मृत्यु भएकी बुटवलकी प्रकृति लम्सालको परिवारलाई फोन सम्पर्क गरी सान्त्वना दिएका छन् ।

फोन सम्पर्कको क्रममा प्रधानमन्त्री ओलीले प्रकृतिका बुबा सुनिल लम्सालसँग फोनमा कुराकानी गरी आफूले उनको न्यायका लागि प्रयास गरिरहेको बताए ।

एमाले नेता महेश बस्नेतले प्रधानमन्त्री ओलीसँग प्रकृतिको परिवारसँग कुराकानी गर्न समन्वय गरेका थिए । उनै बस्नेतको मोबाइलबाट प्रधानमन्त्री ओलीसँग प्रकृतिका बुबाले सम्पर्क गरेका हुन् । सो क्रममा प्रधानमन्त्री ओलीले क्याम्पस प्रशासनबाट आएका सुझावहरु लगायत विषयमा धारणा राखेका थिए ।

यता प्रकृतिका बुबाले भने आफ्नो छोरीको ज्यान गए पनि उक्त कलेजमा अरु पनि नेपाली विद्यार्थी रहेको र उनीहरुको सुरक्षाका लागि राज्यबाट पहल गर्नुपर्नेमा जोड दिए ।

‘हाम्रो त घटना भैसक्यो । त्यहाँ सबै नेपालीहरुको छोराछोरीहरु छन् । आगामी दिनमा यस्तो घटनाहरु सुन्न नपर्दियोस् यसो राज्यले हजुरको तर्फबाट पनि पहल गरिदेओस् । घटना त घटिसक्यो, दुर्घटना भैसक्यो,’ उनले भने ।

त्यस्तै प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट समन्वयको काम भइरहेको बताएका छन् । साथै घटनालाई भुलेर सहज रुपमा दैनिकीहरु चलाउन आग्रह गरे ।

यस्तो छ प्रकृतिका बुबा र प्रधानमन्त्री ओलीबीचको वार्तालाप :
सुनिल : हेल्लो

प्रधानमन्त्री : हजुर नमस्कार

सुनिल : हजुर नमस्कार

प्रधानमन्त्री : अनि तपाईँहरु त सञ्चै हुनुहुन्छ नि ?

सुनिल : हजुर सञ्चै छौँ, सम्हालिरहेका छौँ

प्रधानमन्त्री : उताको अहिलेको खबरहरु के आइरहेको छ ?

सुनिल : उनीहरुले इन्भेस्टिकेसन गरिराछौँ भनिराखेको छ । पोस्टमार्टम रिपोर्ट पनि आयो त्यो पनि उनीहरुले सम्बिट गरेको छ । फरेन्सिक रिपोर्ट आयो कि के भयो त्यो अपडेट भएको छैन । आरोपिलाई ४ वटा जति केस लगाउने भन्ने कुरा भएको छ । सम्भवत आजै होला ।

प्रधानमन्त्री : अनि अहिले क्याम्पसतिरको स्थिति चाँही ठिकै छ अरे ?

सुनिल : क्याम्पसतिरको स्थित खै ठिकै छ होला । हामीलाई त्यति इन्फरमेसन नै आएको छैन, कलेजको स्थितिको बारेमा ।

प्रधानमन्त्री : मलाई धेरै नै दुख लागेको छ त्यो कुरा सुनेर । हामी सबैलाई दुख लाग्या छ । भैसकेको कुरालाई फर्काउन सकिँदैन । नहुने कुरा भैहाल्यो । हामीले धैर्यता गरेर परिस्थितिको सामना गर्नुपर्यो । उता छानबिन पनि भैराखेकै छ भन्ने थाहा पाएका छौँ । र निष्पक्ष छानबिन होला र निष्पक्ष ढंगले नै नानीले न्याय पाउलिन् भन्ने आशा छ । छानबिन निष्पक्ष नै हुन्छ आशा गरौँ ।

सुनिल : हजुर हामी त्यही आशा गरौँ ।

प्रधानमन्त्री : जहाँ जसको जे दोष छ त्यसमा उचित कारबाही हुन्छ र हुनुपर्छ ।

बिचमा महेश बस्नेत : उहाँहरुको चाहना चाँही बिचमा गभर्मेन्टले नै इनिसियसन लिएको छ त्यसमा राम्रै भएको छ । राजदूतावाससँग पनि हामीले उहाँ छँदाखेरि सम्पर्क गर्यौँ, यो चाँही उहाँको छोरी मात्र नभएर सिंगो नेपालबाट पढ्न गएको छोरी हो । कलेजले बेलैमा सूचित गर्न नगरेकोदेखि धेरै लापरबाही छ त्यहाँ । सम्बन्धित मान्छेमाथि कलेजले भन्दा पनि उहाँ (प्रकृति) कै फूपुको छोराले लिएको एक्सनको कारणले कारबाही गरेको रहेछ । कलेजको भन्दा पनि पीडितहरुकै बढी फोर्सका कारण कारबाही भएको हो । सिंगो राष्ट्रले नै चासो दिएको कारणले यति भएको हो । नत्र त्यो पनि हुन्थेन । अब हजुरहरुकै लेभलबाट पहल होस् भन्ने उहाँहरुको चाहना छ ।

सुनिल : हाम्रो त घटना भैसक्यो । त्यहाँ सबै नेपालीहरुको छोराछोरीहरु छन् । आगामी दिनमा यस्तो घटनाहरु सुन्न नपर्दियोस् यसो राज्यले हजुरको तर्फबाट पनि पहल गरिदेओस् । घटना त घटिसक्यो, दुर्घटना भैसक्यो ।

प्रधानमन्त्री : हामीले सुरुदेखि नै चासो लिएका छौँ । सार्वजनिक रुपमा नै चासो लिएका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?