टायलमा आत्मनिर्भर नेपाल, ८० प्रतिशत माग स्वदेशी उत्पादनले पूरा गर्ने

लोकपथ
315
Shares

काठमाडौं । टायल उद्योगमा नेपाल आत्मनिर्भर बन्दै गएको छ । भृकुटीमण्डपमा जारी १०औँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी उद्यमीहरूले यस्तो बताएका हुन् ।

प्राइम सेरामिक्स प्रालिका सञ्चालक आशिष गढले नेपालमा हाल ६ वटा टायल उद्योगले टायल उत्पादन गरेर नेपाललाई आत्मनिर्भरतातर्फ लगिरहेको बताएका छन्  । उनले गत वर्षसम्म भारतबाट १४ अर्ब रुपैयाँ बराबरको टायल आयात हुने गरेकोमा यस वर्षदेखि ८० प्रतिशत माग स्वदेशी उत्पादनले धान्ने दाबी गरे । स्वदेशी उत्पादन फस्टाएकाले मूल्यमा २० देखि ३० प्रतिशत घटेको उनको भनाइ छ ।

लुम्बिनी सेरामिक्सका निर्देशक आशुतोष खेतानले नेपालको टायल उत्पादनले अन्तर्राष्ट्रिय बजारमा उपस्थिति देखाउने समय आएको उनको भनाइ छ । उनले अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा टायल उत्पादन भइरहेकाले भारत, चीन, अमेरिकालगायत युरोपिएन देशहरूमा समेत निर्यातका लागि योजनाहरू बनाइरहेको दाबी गरे ।

निमाटोका निर्देशक जयश जैनले आफ्नो कम्पनी नेपालबाट भारतमा टायल निर्यात गर्ने पहिलो कम्पनी बनेको बताए । उनले निमाटोेले दैनिक १८ हजार स्क्वाएर फिट टायल उत्पादन गरिरहेको भन्दै आफ्नो कम्पनी नेपालको सबैभन्दा ठूलो टायल उत्पादन गर्ने कम्पनी बनेको दाबी गरे । स्वदेशी टायल उत्पादनका कारण उपभोक्ताले सस्तो मूल्यमा टायल खरिद गर्न पाएको उनको भनाइ छ ।

नेपाल सेरामिक्सका सञ्चालक शम्भुनाथ झाले टायल निर्यातका लागि प्लान्ट थप्ने तयारी गरिरहेको बताए । अहिलेको प्लान्टमा उत्पादन भइरहेका टायल स्वदेशकै माग धान्न ठिक्क भएको उनको भनाइ छ । भारत र चीनमा गएर कच्चा पदार्थका बारेमा गहिरो अध्ययन अनुसन्धान गरेर नेपालमा टायल उद्योग सुरु गरेको उनले बताए । 

केही वर्ष अघिसम्म एकाधिकार रूपमा भारतबाट आयात हुने टायल हाल स्वदेशकै उत्पादनले आत्मनिर्भर बन्न थालेको छ । नेपालमा उद्योग स्थापनाले स्थानीयले रोजगार पाउने मात्र नभई विदेशी मुद्रा पनि विदेशिनबाट जोगिएको छ । टायल उद्योगलाई थप उत्पादनशिल बनाएर निर्यात गर्नसके विदेशी मुद्रा आर्जनको पनि महत्त्वपूर्ण स्रोत बन्नसक्ने उद्यमी बताउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?