काठमाडौं । नेकपा माओवादी केन्द्रले यही फागुन १२ देखि हुलाकी राजमार्ग केन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’ सुरु गर्ने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीले फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान सुरु हुने जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानको शुभारम्भ नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचना कवलबाट गरिने बताए । उनले अभियानको समापन चैत्र ८ गते कञ्जनपुरमा पुगेर गरिने जानकारी दिए । उनकाअनुसार तराई क्षेत्रका नागरिकहरूले भोग्नुपरेका समस्याहरूको बारेमा जागरण अभियान केन्द्रित हुन् लागेको हो ।
अभियानअन्तर्गत फागुन १२ गते झापा भेटघाट, अन्तरक्रिया तथा सभा हुने बताइएको छ । फागुन १३ मा मोरङमा भेटघाट, अन्तरक्रिया तथा सभा गर्ने कार्य तालिका छ । फागुन १५ मा सुनसरीमा भेटघाट, अन्तरक्रिया तथा सभा हुनेछ । अभियान फागुन १६ देखि २४ सम्म मधेस प्रदेशमा हुनेछ । फागुन १६ मा सप्तरी, १७ गते सिरहा, १८ गते धनुषा, १९ गते महोत्तरी, २१ गते सर्लाही, २२ गते रौतहट, २३ गते बारा र २४ गते पर्सामा आमसभा, भेटघाट र अन्तरक्रिया हुने बताइएको छ ।
फागुन २५ गते चितवनको भरतपुरमा सभा तथा अन्तरक्रिया हुनेछ । नवलपुर (नवलपरासी पूर्व) मा फागुन २६ गते सभा हुनेछ भने २७ गते लुम्बिनी प्रदेशको नवलपरासी पश्चिममा सभा, भेटघाट र अन्तरक्रिया कार्यक्रम हुने प्रवक्ता सापकोटाले बताए । २८ फागुनमा रुपन्देहीमा कार्यक्रम हुनेछ भने चैत २ मा कपिलवस्तु र ३ चैतमा दाङमा कार्यक्रम आयोजना हुनेछ । त्यस्तै ४ चैतमा बाँके, ५ गते चैतमा बर्दिया, ६ चैतमा कैलाली र ७ चैतमा कञ्चनपुरमा कार्यक्रम गरी अभियानको समापन हुने प्रवक्ता सापकोटाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया