काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले २०८२ साल असार मसान्तभित्र सर्वोच्च अदालतमा ८ वर्ष नाघेका मुद्दाको संख्या शून्यमा झार्ने घोषणा गरेका छन् ।
बिहीबार सर्वोच्च बार एशोशिएशनको ५१औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् ।
उनले सर्वोच्च अदालतमा आठ वर्ष नाघेका मुद्दाहरू हजारौँको संख्याबाट घटाएर ७८ थान मात्र बाँकी रहेको बताए । बाँकी ७८ थान मुद्दा समेत आउँदो वर्षको असार मसान्तसम्म शून्यमा झार्ने उनको भनाइ छ । उनले पाँच वर्ष नाघेका मुद्दाहरू समेत २०८३ सालसम्म शून्यमा झार्ने लक्ष्य राखिएको बताए ।
अहिले सर्वोच्चमा पाँच वर्ष नाघेका मुद्दाको संख्या दुई हजार चार सय रहेको समेत उल्लेख गरे । उनले सर्वोच्चबाट फैसला हुने आदेश र फैसलाहरुमा सशक्त टिप्पणी गर्न समेत कानुन व्यवसायीहरूलाई आग्रह गरे । उनले आदेशप्रति आग्रह पूर्वाग्रह नराखी टिप्पणी गर्न अनुरोध गरे ।
उनले भने, ‘मैले बनाएको प्रक्षेपणभित्रमा २०८२ साल असार मसान्तसम्ममा आठ वर्षीय मुद्दा जिरोमा ल्याउने अभियानमा छौँ । आज फागुन ८ गते हो । अब मसँग धेरै समय छैन चार महिना बाँकी छ । अब आठ वर्ष नाघेका मुद्दा सर्वोच्च अदालतमा हजौंबाट घटेर आज ७८ थान मा बाँकी छन् । यी मुद्दाहरू आउँदो वर्षको असार मसान्तसम्म शून्यमा ल्याउँछौं । २०८३ सालभित्र पाँच वर्ष नाघेका मुद्दा शून्यमा ल्याउने भनेको छ । पाँच वर्ष नाघेका मुद्दाहरू २४०० हारहारी रहेका छन् । त्यसलाई ०८३ असार मसान्तसम्म शून्यमा ल्याउने भनिएको थियो ।’
प्रधानन्यायाधीश राउतले कानुन व्यवसायीहरूसँग भएको ज्ञान र क्षमता कानुन निर्माणको क्षेत्रमा संप्रेषण हुन नसकेको बताए । उनले कानुन बनाउँदा कानुन व्यवसायी र संसदबीच पर्याप्त छलफल नहुँदा अन्यायपूर्ण र दोषपूर्ण कानुन बन्ने गरेको बताए । आफूसँग भएको ज्ञान, अनुभव र निपूर्णता कानुन निर्माण गर्ने क्रममा लबिङ हुनुपर्ने उनको भनाइ छ । उनले कानुन व्यवसायी र संसदबीच पर्याप्त छलफल र सहकार्य नहुँदा आवश्यकता नपर्ने कानुनहरू समेत बनेको बताए ।
कानुन लागू नगर्दै संसद् र कानुन व्यवसायीबीच व्यापक छलफल गर्ने परम्पराको विकास गर्न जरुरी रहेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया