काठमाडौं । रुपन्देहीको रोहिणी खोला किनारमा निर्माण गर्न लागिएको नेपाल आयल निगमको प्रादेशिक इन्धन डिपोको डीपीआर अन्तिम चरणमा पुगेको छ ।
हाल रुपन्देहीको भलवारीस्थित निगमको इन्धन डिपो स्थानान्तरण तथा क्षमता बिस्तार गर्ने योजनाअनुसार आयल निगमले रुपन्देहीको रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकाको सीमा पर्ने रोहिणी खोला किनारमा आधुनिक किसिमको नयाँ इन्धन डिपो निर्माण गर्न लागेको हो ।
डिपो निर्माणका लागि पहिलो चरणमा खोला किनारमा तार जालीसहितको पर्खाल लगाउने र जग्गा सम्याउने काम सकिएको आयोजनाका इन्जिनियर अंकित रिमालले जानकारी दिए ।
आयोजनाको डीपीआर काठमाडौं विश्व विद्यालय अन्तर्गतको काठमाडौ युनिकन्सल्टले गरिरहेको इन्जिनियर रिमालले बताए । आठ महिना भित्रमा डीपीआर तयार गर्नेगरी काठमाडौ युनिकन्सल्टसँग सम्झौता भएको र डीपीआर तयार गर्ने कार्य अबको एक महिना भित्रै सकिने पनि उनले जानकारी दिए ।
रुपन्देहीको भलवारीमा रहेको डिपोको स्टोरेज क्षमता कम भएको र हाल घना बस्ती बिस्तार समेत भएकोले निगमले रोहिणीमा अत्याधुनिक सुविधासहितको धेरै क्षमताको नयाँ डिपो निर्माण गर्न लागेको हो । करिब ३ अर्ब लागतमा डिपो निर्माण गर्ने अनुमान गरिएको भए पनि डीपीआर तयार भइसकेपछि मात्रै कुल लागत र डिजाइन यकिन हुने आयोजनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया