काठमाडौं । वर्तमान सरकार गठन भएको दुई सय दिनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
उनले दुई सय दिनका लागि मन्त्रालयले निर्धारण गरेको कार्य प्रगति लक्ष्यउन्मुख रहेको बताए । उनले विगतमा वर्षा र बाढीको प्रकोपका कारण लक्ष्य प्राप्तिमा कमी आए पनि सम्बद्ध सबैको सकारात्मक सहयोगले उपलब्धिमूलक कार्य सम्भव भएको बताए ।
उनले ठुला आयोजना व्यवस्थापनमा देखिएका समस्या तथा स्रोत साधनको सीमितताका बाबजुत उच्च प्रतिफल हासिल गर्न आवश्यक सबै प्रयत्न गरेको जिकिर गरे ।
मन्त्री दाहालले चालु वर्षमा मन्त्रालयका लागि विनियोजित बजेटमध्ये साउनदेखि माघ मसान्तसम्म कुल २८ दशमलव १५ प्रतिशत खर्च भएको बताए ।
उनले दुई लेनको २४६ किलोमिटर तथा लेनमाथिको ३० दशमलव ५८ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको बताए । उनले बर्दिबास-चोचा रेलमार्ग खण्डमा थप तीन किलोमिटर ट्रयाकवे निर्माण भएको तथा यातायात व्यवस्थापनतर्फ जिपिएस जडान लगायतका कार्य निरन्तर भइरहेको बताए ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले असोज १२ र १३ गतेको बाढीले क्षति गरेका सबै सडक आपत्कालीन रूपमा सञ्चालन गरिएको बताए । उनले स्थायी रूपमा सडक निर्माण गर्न करिब दुई वर्ष लाग्ने बताए। क्षति पुगेपछि सञ्चालनमा आएका केही सडक आगामी वर्षाको समयमा चल्न नसक्ने सचिव शर्माको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया