विकासशील राष्ट्रमा स्तरोन्नति हुँदै नेपाल : विश्व समुदायले हेर्ने दृष्टिकोणमा सकारात्मक प्रभाव पर्ने विश्वास 

लोकपथ
329
Shares

काठमाडौं । नेपाल सन् २०२६ मा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले अध्ययन प्रतिवेदन बुझउँदै उक्त जानकारी दिएको हो ।

समितिमा एलडिसी अध्ययन प्रतिवेदन बुझाँउदै उपसमितिकी संयोजक सांसद अञ्जान शाक्यले नेपाल सन् २०२६ नोभेम्बर २४ मा अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने जानकारी दिइन् । उनले स्तरोन्नतिबाट नेपाललाई प्राप्त हुने अवसर, त्यसले नेपाललाई पार्ने प्रभाव र प्रभावको समुचित व्यवस्थापनको भइरहेका कामहरुबारे उपसाितिले अध्ययन गरी प्रतिवेदन तयार पारिएको बताइन् ।

उनले अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति भएसँगै नेपाली जनता र नेपालको सम्मान बढ्ने र नयाँ अवसरहरु सिर्जना हुने बताइन् । उनले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति भएसँगै विश्व समुदायले नेपाललाई हेर्ने दृष्टिकोणमा समेत सकारात्मक प्रभाव पर्ने बताइन् । विकासशील राष्ट्र भएसँगै नेपालमा वैदेशिक लगानी र विकास सहायता परिचालनमा वृद्धि हुने बताइन् । 

नेपालले प्राप्त अवसरहरूको सदुपयोग गर्न नीति, कानुन, रणनीति र कार्यविधिको परिमार्जन तथा संस्थागत एवं संरचनागत सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ । समितिले उक्त प्रतिवेदनको आवश्यक अध्ययन गरी सरकारलाई निर्देशन दिने बताइन्  । 

समिति सचिव डा. रोजनाथ पाण्डेले विकासशील राष्ट्रमा स्तरोन्नति भइसकेपछि प्राप्त हुने अवसरहरूबारे गम्भीर रूपमा अध्ययन गर्न जरुरी रहेको बताए । उनले स्तरोन्नति भएसँगै प्राप्त हुने अवसर, यसले पार्ने प्रभाव लगायतका विषयमा अध्ययन गरेर उपसमितिले प्रतिवेदन तयार पारेको बताए । 

उनले स्तरोन्नति भएको कुरालाई फेरि फर्किन नदिई यसको दिगोपना कायम गर्न सरकारी क्षेत्र र निजी क्षेत्रको बीचमा समन्वय हुन जरुरी रहेको समेत बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?