पशुपतिनाथको ५६ वर्षयताको सम्पत्ति सार्वजनिक, मूल ढुकुटीको विवरण गोप्य

काठमाडौँ– पशुपतिनाथ मन्दिरको ५६ वर्षयताको अचल सम्पत्ति र परापूर्वकालमा राखिएको गुठीको जग्गाको विवरण सार्वजनिक गरिएको छ । पशुपतिनाथको सम्पत्ति विवरण सार्वजनिक भएको यो पहिलो पटक हो । मूल ढुकुटीको विवरण भने बाहिर ल्याइएको छैन ।

पशुपति क्षेत्र विकास कोषबाट दुई वर्षअघि गठित गुठी जग्गा अध्ययन एवं छानबिन समितिले चलअचल सम्पत्ति अध्ययन गरेको थियो । अचल सम्पत्ति मूल ढुकुटी र बम्बे ढुकुटीमा छ । बम्बे ढुकुटीमा २०१९ देखि २०७५ सालसम्मको अभिलेख पाइएको समितिका संयोजक तथा कोषका कोषाध्यक्ष मिलनकुमार थापाले जानकारी दिए । पशुपतिनाथको भण्डार तहबिलको तथ्यांकअनुसार बम्बे ढुकुटीमा ९ किलो सुन छ । चाँदी ३ सय १६ किलो २३२ ग्राम छ । त्यो मूल ढुकुटीमा दखिला गरिएको थापाले जानकारी दिए । ‘२०१९ सालभन्दा अगाडिको मुचुल्का प्राप्त हुन सकेन, थापाले भने । बम्बे ढुकुटी पशुपतिको भान्सामा छ । मूल ढुकुटी मन्दिरको माथिल्लो तलामा छ । सुनचाँदी, हीरा, मोतीलगायत बहुमूल्य गहना मूल ढुकुटीमा दाखिला हुन्छ । बम्बे ढुकुटीमा भाँडावर्तन लगायत सम्पत्ति जम्मा हुन्छन् । यहाँको भाँडावर्तनको छुट्टै मुचुल्का तयार गरिने थापाले जानकारी दिए । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?