श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन मलेसियासँग आज निर्णयक छलफल हुँदै

काठमाडौं । नेपाल सरकार र मलेसिया सरकारबीच आज श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन निर्णयक छलफल हुँदैछ । 

श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिनेबारे नेपाल प्रतिनिधिमण्डल र मलेसियाका उच्च अधिकारीबीच शुक्रबार निर्णयक छलफल हुने भएको हो । 

दुई देशबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुट्न बाँकी रहेका विषयमा सहमति जुटाउन प्रतिनिधिमण्डले मलेसियाको गृह तथा मानव संशाधन मन्त्रालयका उच्च अधिकारीसँग छलफल  हुने जनाइएको छ । 

आज हुने छलफलमा मलेसियामा कामदार आपूर्ति दुई देशको सरकार सम्मिलित जिटुजी प्रक्रियामार्फत हुनुपर्ने साथै कामदारको सम्पूर्ण लागत खर्च रोजगारदाता कम्पनी र मुलुकले नै व्यहोर्ने गरी शून्य लागतमा रोजगारीको अवसर प्रदान गर्ने विषयलाई नेपाली प्रतिनिधिमण्डले जोड दिने भएको हो ।  

यस्तै कामदारको सामाजिक सुरक्षा, न्यूनतम् सेवा सुविधा, २४ घण्टे बीमा, स्वास्थ्योपचारलगायत मुद्दा पनि छलफलका क्रममा नेपालले उठान गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

नेपाल र मलेसियाको श्रम सम्बन्धको १७ वर्षे इतिहासमा दुई देशका अधिकृतबीच श्रम सम्झौताको विषयमा हुन लागेको यो बैठक पहिलो हो । 

आज हुने छलफलमा मस्यौदालाई अन्तिम रुप दिने र श्रम सम्झौताको मिति तय भएपछि दुई मुलुकबीच सम्झौतापत्रमा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ । 

श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं वैदेशिक रोजगार महाशाखाका प्रमुख कृष्ण ज्ञवाली नेतृत्वको टोली गत बुधबार नै  मलेसिया गएका थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?