जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्काशन गरिएकोबारे निर्वाचन आयोगमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षर अझै बुझाउन सकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा विवाद भएपछि जसपामा भाँडभैलो छ । यहि कारण जसपा प्राविधिक रुपमा नफुटेपनि व्यवहारिक रुपमा फुटिसकेको छ । ठाकुर कुनै पनि हालतमा ओलीलाई समर्थन गर्ने पक्षमा रहे भने यादव दुई–दुई पटक प्रतिनिधि सभा विघटन (गत पुस ५ र जेठ ७) गरेर असंवैधानिक काम गर्ने प्रधानमन्त्री ओलीलाइ कुनै पनि हालतमा समर्थन नगर्ने पक्षमा अडिग रहे ।
ठाकुर पक्ष ओलीलाई समर्थन गरेर जेठ २१ बाट सत्तामा गइसकेको छ । यादव पक्ष भने कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा सम्मिलित विपक्षी गठबन्धनमा सामेल छ ।
विपक्षी गठबन्धन प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापना हुनुपर्ने माग लिएर सर्वाेच्च अदालत गएको छ । ठाकुर पक्षले भने ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमलाई स्वागत गरेको छ । प्रधानमन्त्री ओलीको पक्ष र विपक्षमा बाँडिदा जसपाभित्र धुव्रीकरण बढेको हो ।
पार्टीमा बिवाद चर्किदै गएपछि ठाकुर र यादवले एकले अर्कालाई जेठ १८ मा अनुशासनको कारवाही स्वरुप पार्टीबाट निष्काशन गरी आयोगमा पार्टीको अभिलेख अद्यावधिक गर्न माग गर्दै निवेदन दिएका थिए ।
जेठ १९ मा आयोगले दुवै निवेदन राजनीतिक दलसम्बन्धी नियमावली २०७३ (पहिलो संशोधन) अनुरुप नभएपछि बदर गर्दै अनुसूची १८ बमोजिमको फारमसमेत भरेर पठाउन भन्दै पत्राचार गरेको थियो । अनुसूची १८ मा दलको विवरण हेरफेर गर्नुपर्ने भएमा उक्त ढाँचाअनुसार निर्वाचन आयोगमा लेखि पठाउनुपर्ने व्यवस्था छ । आयोगले पत्रमा ठाकुर पक्षलाई केन्द्रीय कार्यकारिणी समितिको बैठकमा ‘उपस्थित सदस्यहरूको हस्ताक्षर सहितको माइन्यूटसमेत आयोगमा पेश गर्न’ भनेको थियो ।
यादवले भने केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्यको हस्ताक्षरसहित ठाकुरलाई कारवाही गरिएको पत्र बुझाएका कारण उनलाई अनुसूची १८ को फारम मात्रै भर्न भन्यो । यादवले जेठ २० मै त्यो फारम भरेर बुझाइसकेका छन् । तर ठाकुर पक्षले भने केन्द्रीय कार्यकारिणी समितिको हस्ताक्षर बुझाउन सकेको छैन । बहुमत केन्द्रीय कार्यकारिणी सदस्यले यादवको पक्षमा हस्ताक्षर गरेकाले ठाकुर पक्षलाई बहुमत जुटाउन सकस भएको छ । आयोगले भने बमोजिम पत्र पेश गर्न नसकेपछि जेठ २३ मा ठाकुर पक्षले पार्टी सचिवालयका सबै जनालाई कोरोना भएको भन्दै आयोगसँग एक साताको समय माग गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार ठाकुर पक्षले मागेको एक साताको समय आगामी शुक्रवार सकिदैछ । कोरोनाका कारण देखाएर समय मागेकाले समय दिइएको हो । उनीहरुले मागेको समयभित्र बिवरण पेश गर्न नसकेमा आयोगले त्यसपछि नपर्खने प्रवक्ता श्रेष्ठको भनाई छ ।
ठाकुर पक्षको रणनीति
जसपाको यादव पक्षले सम्पूर्ण विवरण आयोगमा बुझाइसकेको अवस्थामा ठाकुर पक्षलाई बहुमत जुटाउन समस्या भएको छ । ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव पक्षको बहुमत छ । यादव पक्षमा रहेका सदस्यलाई सत्ताको लोभ देखाएर ठाकुर पक्ष आफ्नो बहुमत पुर्याउने रणनीतिमा छ । त्यसका लागि सदस्यहरुलाई विभिन्न प्रलोभनमा पारेर आफ्नो पक्षमा ल्याउन सकिन्छ कि भन्ने उदेश्यले ठाकुर पक्षले आयोगसँग समय मागेको यादव पक्षको आरोप छ ।
जसपाभित्र यादव पक्षका नेता गंगानारायण श्रेष्ठका अनुसार ठाकुर पक्षमा बहुमत पुग्ने सम्भावना छैन बरु ठाकुर पक्षमा रहेका सदस्य पनि यादव पक्षमा आउन सक्छन् । श्रेष्ठ भन्छन्,“ठाकुर पक्ष पार्टी हित विपरित गएको हुनाले उनीहरुलाई कारवाही गर्नुपर्छ भन्ने पक्षमा कार्यकारिणी समितिका सदस्य एकजुट छन् । सत्ताको लोभ र डरधम्कीमा कोही पनि ठाकुरको पक्षमा जाँदैन ।”
जेठ ४ मा यादव र ठाकुरबीच ओली सरकारमा सहभागी नबन्ने सहमति भएता पनि ठाकुर पक्ष भित्रभित्रै सरकारमा जाने तयारी गरिरहेको थियो । ठाकुरले पार्टीलाई धोखा दिएको यादव पक्षको आरोप छ ।
उता ठाकुर पक्षका नेता डा.सुरेन्द्र झा भने आफूहरुको पक्षमा सजिलै बहुमत पुग्ने दाबी गर्छन् । झा भन्छन्, “निर्वाचन आयोगले तोकेको समयसीमा भित्रै बहुमत सदस्यहरुको समर्थन लिएर कागजात पेश गर्छाै,पार्टी सचिवालयका कर्मचारीलाई कोरोना भएका कारण बुझाउन केही ढिला भएको हो ।”
केही नेताले भने दुवै पक्षमा हस्ताक्षर गरेनन् !
जसपा स्रोतका अनुसार नेताहरु राजकिशोर यादव, मनिष सुमन लगायतले पार्टी एक हुनुपर्ने भनेर यादव र ठाकुर दुवै पक्षमा हस्ताक्षर गरेका छैनन् । उनीहरु आफ्नो समूहमा रहेको बुझाई ठाकुर पक्षको छ । तर उनीहरुले ठाकुरको पक्षमा हस्ताक्षर नगर्ने बताइएको छ ।
प्रतिनिधि सभा विघटनको मुद्धा सर्वाेच्चमा विचाराधीन रहेको अवस्थामा पार्टी सरकारमा जान नहुने धारणा उनीहरुले राख्दै आएका छन् ।
लेखकबाट थप
व्यवस्था फेरियो, अवस्था फेरिएन
त्यो कालो शुक्रवार : बिलियार्ड हलमा राजा वीरेन्द्रको वंशनाश
जसपाभित्रको दुई धार : पहिले छाँया अहिले घाम
एमालेमा ओली रणनीति : अप्ठ्यारोमा एकताको कुरा, सहज हुँदा कारबाही
एमाले विवादको फाइदा कांग्रेसलाई : कर्णाली प्रदेशबाट सत्तारोहण शुरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया