एमाले विवादको फाइदा कांग्रेसलाई : कर्णाली प्रदेशबाट सत्तारोहण शुरु

नेकपा एमाले भित्रको आन्तरिक कलहको फाइदा प्रमुख प्रतिपक्षी दल कांग्रेसले लिन थालेको छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच आन्तरिक कलह चुलिएपछि त्यसको राजनीतिक लाभ कांग्रेसलाई हुन थालेको हो । ओलीमाथि एमालेलाई तहस नहस पारेको आरोप नेपाल पक्षले लगाउँदै आएको छ । एमाले भित्रको झगडा चर्किदै गर्दा कांग्रेसले कर्णाली प्रदेशबाट सत्ता आरोहणको शुरुवात गरेको छ ।

जेठ २३ मा कांग्रेसको तर्फबाट कर्णाली प्रदेश सरकारमा यज्ञबहादुर बिसी र दिनबन्धु श्रेष्ठ मन्त्री बनेका हुन् । पार्टीमा आन्तरिक कलह चर्किदै गर्दा ओलीले प्रदेश सरकार पनि गिजोल्न शुरु गरेका थिए । कर्णालीमा ओली पक्षले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई दिएको समर्थन फिर्ता लियो । तर शाहीले गत बैशाख ३ गते विश्वासको मत लिने बेला नेपाल पक्षका ४ जना सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पद जोगाए उनलाई कांग्रेसको पनि समर्थन रहेको थियो ।

आज पनि सुदूरपश्चिम प्रदेशमा नेपाल पक्षका प्रदेश सभा सांसदले मुख्यमन्त्री त्रिलोचन भट्टको पद जोगाएका छन् । सुदुर पश्चिम एमाले संसदीय दलमा नेपाल पक्षको बहुमत छ । कांग्रेसले आवश्यक परेको खण्डमा मात्रै भट्टलाई मत दिने नत्र तटस्थ बस्ने निर्णय गरेको थियो । नेपाल पक्षका सांसदले सहयोग गरेपछि भट्टले पद जोगाए । एमालेभित्र बिवाद, सर्वाेच्च अदालतले गत फागुन २३ मा एमाले र माओवादी केन्द्रलाई पूर्ववत रुपमा व्यूँताउने फैसलाले प्रदेश र केन्द्रमा कांग्रेस निर्णायक बन्न पुगेको छ ।

२०७४ को निर्वाचनबाट कांग्रेसले प्रतिपक्षमै बस्ने जनमत पाएको थियो । तर समय र परिस्थितिले कांग्रेसलाई अर्काे चुनाव अघि नै सत्ता यात्रामा सहभागी बनाएको छ । “हामीलाई जनताले ५ वर्षसम्म प्रतिपक्षमा बस्ने म्यान्डेड दिएका हुन् प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरता दिएर देशलाई अघि बढाउलान् भन्ने अपेक्षा थियो । तर ओलीले स्थिरताको वातावरण पनि बनाउन सकेनन् प्रतिनिधि सभा समय नपुग्दै विघटन गरे, त्यसको असर प्रदेश सरकारमा पनि देखिन थाल्यो,” कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरे भन्छन्,“यो अवस्थामा देशमा राजनीतिक स्थिरता कायम रहोस र प्रदेश संसद पूरै अवधि चलोस भनेर मात्रै हामी प्रदेश सरकारमा सहभागी बनेका हौं ।”

केन्द्रिय सदस्य घिमिरेको तर्क छ,“सरकारमा जाने हतारो र बार्गेनिङ गर्ने मनसाय कांग्रेसको होइन, तर एमाले र जनता समाजवादी पार्टी (जसपा) भित्रको किचलोले कतै हाम्रा प्रजातान्त्रिक संरचनाहरु भत्किने त हैनन् भन्ने हिसावले कांग्रेसले सहयोग गर्दा ति जोगिन्छन् भने हामी त्यसलाई जोगाउने पक्षमा लागेको हौं ।”

प्रदेश १,प्रदेश २,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र बागमती प्रदेशमा पनि कांग्रेस सत्तामा जाने संभावना बढेको छ । यीमध्ये प्रदेश २ बाहेकका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याइएपनि ती प्रदेशका मुख्यमन्त्रीले छल्दै आएका छन् । प्रदेश २ मा कांग्रेस,माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षको सरकार बनाउनका लागि प्रयास भइरहेको छ । अहिले त्यहाँ उपेन्द्र पक्षकै लालबाबु राउत मुख्यमन्त्री छन् । राउतले जसपाको महन्थ ठाकुर पक्षका ४ जनालाई मन्त्रीबाट हटाएका छन् । त्यसकारण पनि त्यहाँ सत्ता समीकरण बदलिने निश्चित जस्तै छ ।

२०७४ को निर्वाचनमा झण्डै दुई तिहाइ नजिक रहेका एमाले–माओवादी गठबन्धन छुटेर अहिले आ–आफ्नो बाटो लागेका छन् भने जसपाको पूर्व राजपा र समाजवादी पक्ष पनि बिग्रहको स्थितीमा पुगेको अवस्था छ । प्रधानमन्त्री ओलीले जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई फुटाएर संघीय सरकारमा सामेल गराएका छन् । ठाकुर पूर्व राजपा पक्षका नेता हुन् । एमाले र जसपाभित्रको आन्तरिक लडाईले कांग्रेसलाई प्रदेश सरकारको सत्तामा पुग्ने अवसर प्राप्त भएको छ । प्रदेशमा मात्रै होइन यता केन्द्रमा पनि कांग्रेस,माओवादी,एमाले वरिष्ठ नेता नेपाल पक्ष र जसपाको यादव पक्ष एक जुट भएका छन् ।

गत पुस ५ मा ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए । तर सर्वाेच्च अदालतले फागुन ११ गते प्रतिनिध सभा पुनस्र्थापित गरर्यो । दोस्रो पटक ओलीले जेठ ७ मा प्रतिनिधि सभा विघटन गरेका छन् । विघटन विरुद्धको मुद्दा सर्वाेच्च अदालतमा बिचाराधीन छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मागसहित १४६ जना सांसदले सर्वोच्चमा रिट दायर गरेका हुन् । देउवालाई प्रधानमन्त्री बनाउन माओवादी,एमालेको माधव नेपाल पक्षका सांसद,जसपाको यादव पक्षका सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षर गरेका छन् ।

लेखकबाट थप

व्यवस्था फेरियो, अवस्था फेरिएन

त्यो कालो शुक्रवार : बिलियार्ड हलमा राजा वीरेन्द्रको वंशनाश

जसपाभित्रको दुई धार : पहिले छाँया अहिले घाम

एमालेमा ओली रणनीति : अप्ठ्यारोमा एकताको कुरा, सहज हुँदा कारबाही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?