२०७८,श्रावण,११,सोमवार

व्यवस्था फेरियो, अवस्था फेरिएन

२०७८,जेष्ठ,१५,शनिवार १२:४४


२०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्दै राजतन्त्रको अन्त्य गर्‍यो। जसले राष्ट्र प्रमुखको रुपमा रहेको शाह वंशीय परम्पराको किलो उखेल्यो र देशको शासन सत्ता नागरिकको हातमा आयो । १९ दिने जनआन्दोलन हुँदै प्राप्त भएको गणतन्त्रको १३ वर्ष पूरा हुँदा पनि जन अपेक्षा र मुलुकका समस्या जस्ताकै तस्तै छन् ।

कसरी आयो गणतन्त्र ?

नेपालमा २००७ सालमा प्रजातन्त्र प्राप्ति पछि गणतन्त्रका कुरा उठेपनि यो ओझेलमै परेको थियो । यो आम मानिसले स्वीकारिएको विषय भने थिएन । तर २०५८ जेठ १९ मा तत्कालीन राजा वीरेन्द्रको बंश नाश हुनेगरी दरबार हत्या काण्ड भएपछि गणतन्त्रको बहस सतहमा आयो । राजा वीरेन्द्रको बंश नाशपछि ज्ञानेन्द्र राजा भए । वीरेन्द्रको हत्यापछि सशस्त्र युद्ध गरिरहेको माओवादीले खास गरी गणतन्त्रलाई जोडतोडले उठायो । ज्ञानेन्द्रले ०६१ माघ १९ मा शाही घोषणामार्फत तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी शासन सत्ताको नेतृत्व आफ्नो हातमा लिए । यसले पनि राजनीतिक दलहरुलाई राजतन्त्र विरोधी कित्तामा उभ्याउन सजिलो भयो ।

राजाको कदमविरुद्ध राजनीतिक दलहरु आन्दोलनमा होमिए । २०६२ चैत २४ गतेबाट देशब्यापी आन्दोलन शुरु भयो । सशस्त्र युद्ध गरिरहेको माओवादी र संसदीय धारमा रहेका राजनीतिक दलहरुबीच पनि राजाको कदम विरुद्ध आन्दोलन गर्ने सहमति भयो । चैत २४ बाट शुरु भएको आन्दोलन २०६३ वैशााख ११ गते १९ दिनसम्म चल्यो । वैशाख ११ गते राजा ज्ञानेन्द्रले संसद पुनःस्थापना गरेपछि आन्दोलन टुंगियो । ०६२/६३ को आन्दोलनले गणतन्त्रको जग बसाल्यो । आन्दोलनमा २५ जनाले ज्यान गुमाए । यहीबीचमा माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न भयो । नेपालको अन्तरिम संविधान २०६३ निर्माण भयो र माओवादी समेतलाई सम्मिलित गरी अन्तरिम व्यवस्थापिका संसदको निर्माण भयो ।

माओवादी समेत सम्मिलित संयुक्त सरकार बन्यो र नेपालको भावी संविधान निर्माण गर्नका लागि संविधानसभाको निर्वाचन गरायो । ०६४ चैत २८ मा पहिलो संविधान सभाको निर्वाचन सम्पन्न भयो । माओवादी ठूलो दलको रुपमा उदायो । ०६४ मै कांग्रेसले पनि गणतन्त्रमा जाने निर्णय गर्‍यो । २०६५ जेठ १५ मा नेपाल गणतन्त्रमा प्रवेश गर्‍यो । कांग्रेसले निर्णय नगरेको भए सायद गणतन्त्र स्थापना हुँदैन थियो भन्ने धेरै राजनीतिक दलका नेताहरुको भनाई छ । गणतन्त्र आएपछि पहिलो संविधान सभाले संविधान दिन सकेन । दोस्रो संविधान सभाले २०७२ असोज ३ गते संविधान जारी गर्‍यो। संविधान जारी पछि ०७४ मा संघ,प्रदेश र स्थानीय तहको निर्वाचन भयो । र तीन तहका सरकार अस्तित्वमा आए ।

परिवर्तन भनियो तर हिजो जस्तै आज

राजतन्त्रको अन्त्यसँगै देश गणतन्त्रमा गयो । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव भए भने विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एवं देशमा नयाँ संविधान जारी भएपछिको पहिलो राष्ट्राध्यक्षका रुपमा काम गरिरहेकी छिन् । गणतन्त्र प्राप्तिसँगै देश आर्थिक विकास र समुन्नतिको बाटोमा अघि बढ्ने, अधिकारका लागि आन्दोलन गर्नु नपर्ने भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती अन्त्य हुने मुलुकमा विधिको शासन स्थापित हुने जस्ता आम अपेक्षा थियो ।

गणतन्त्र स्थापनाको १३ वर्ष बितिसक्दा के ति पूरा भएत ? “देश संचालन गर्ने र गणतन्त्र ल्याउने अगुवाहरुको मात्रै अवस्था फेरियो जनताको अवस्था भने फेरिएन, हामीले उनीहरुको पुरानै मनोवृत्ति बदल्न सकेनौ, हिजो चप्पल पड्काएर हिड्नेहरु आज महल र सम्पत्तिका धनी भए, संभ्रान्तका साथै हुनेखाने भए”, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी भन्छन्,” जसले गर्दा वास्तविक रुपमा गणतन्त्रको अनुभूति जनातामा हुन सकेको छैन ।” त्यसो भए के गणतन्त्रको विकल्प खोज्ने बेला आएको होत ?

नेकपा एमाले नेतृ बिन्दा पाण्डेका अनुसार, गणतन्त्र बिस्थापित हुने संभावना कुनै अवस्थामा पनि छैन, किनकि गणतन्त्रमा अहिलेका युवापुस्ताले जुन स्वतन्त्र जीवन शैली अपनाइरहेका छन् र अब हुर्कदै गरेका पनि युवा अवस्थामा पुगेपछि यही जीवनशैलीमा खुशी हुनेछन् । “राजतन्त्र रहँदा कुनै काम गर्दा चिनेको हुनुपर्ने,काम सहज रुपमा नहुने, योग्यता र क्षमताको कदर नहुने,विज्ञता भएकोले अवसर नपाउने जुन अवस्था थियो, अहिले पनि त्यही मानसिकता रहेकाले नागरिकमा असन्तुष्टि बढेको हो,” पाण्डे भन्छिन, “राजनीतिक नेतृत्वमा रहनेको पुरानो मनोबृत्तिका साथै संस्कार र व्यवहार परिवर्तन हुनुपर्छ,जसले गणतन्त्रलाई अझ बलियो पार्न सहज हुनेछ ।”

कांग्रेस नेता रोमी गौचन थकाली गणतन्त्रप्राप्ति पछि अपत्यारिलो ढंगले भ्रष्टाचारले संस्थागत रूप लिएको, समाजलाई राजनीतिक रुपमा विभाजन गर्न खोजिएको र दण्डहीनता बढेको स्विकार्छन । “न्यायालय राजनीतिक प्रभाव मुक्त हुन नसकेको, राजनीतिक दल र तिनका नेताहरू समूह स्वार्थ भन्दामाथि उठ्न नसकेकोले आमजनतामा निराशा छाएको हो,” गौचन भन्छन्,“राजनीतिमा राजनीतिक मूल्य,मान्यता र नैतिक चरित्र प्रायः शून्य भएर डन र भ्रष्टाचारीको हाली मुहाली रहेको भन्ने जनगुनासो बढ्दा त्यसमा राजनीतिक दलका नेताहरुले चासो नदिएकोले गणतन्त्रप्रति प्रश्न उठेको छ । तर पनि गणतन्त्रको विकल्प गणतन्त्र नै हो ।”

शासन प्रणाली होइन,पात्र र प्रवृत्तिमा खोट

गणतन्त्र आउनु अघि श्रीपेच लगाएका एक जना राजा हुन्थे भने अहिले श्रीपेच बिनाका धेरै राजा छन् । उनीहरुको राजा महाराजाकै सिको गर्ने प्रवृतिका कारण पनि गणतन्त्रका यतिका वर्ष बित्दा पनि आमनागरिक र राजनीतिक नेतृत्वबीचको दुरी अहिले पनि घट्न सकेको छैन् ।
अहिले देश कोरोनाको महमारीको भुंग्रोमा छ । मानिसहरु उपचारबाट बञ्चिन हुनु परेको छ । तर राजनीतिक नेतृत्व भने सत्ताकै खेलमा छ ।

सबै देशका नागरिकले धमाधम कोरोना विरुद्धको खोप लगाइरहेका छन् । नेपालमा भने कोसँग खोप अनुदानमा माग्ने र कसले सित्तैमा देला भन्ने स्थिती छ । कैयौं मानिस कोरोनाका कारण कामबिहिन भएका छन् । यस्तो अवस्थामा राजनीतिक दलका नेता र सरकार गैरजिम्मेवार बनेका छन् । जनमोर्चाका अध्यक्ष केसी भन्छन् “गणतन्त्र आफैमा खराब होइन, यो विश्वभरी नै अंगालिएको प्रणाली हो । नेपाली जनताले लामो संघर्ष गरेर ल्याएको व्यवस्था हो । तर गणतन्त्रका लागि लडेका पात्रहरुको संस्कार र प्रबृत्तिका कारण गणतन्त्रमा बादल लागेको छ उनीहरुले नै गणतन्त्र सिध्याउलानकि भन्ने डर छ ।”

एमाले नेतृ पाण्डे जसरी राजतन्त्रमा एउटा पुस्ताको अन्त्य भएपछि अर्काे पुस्ताले नेतृव प्राप्त गर्ने स्थिति थियो,गणतन्त्रमा पनि त्यही अवस्था हावी भएको बताउँछिन । भन्छिन्, “नेतृत्व परिवर्तन जीवन अन्त्यपछि होइन,निश्चित कार्यकाल पछि उ फेरि शासन सत्तामा फर्केर नआउने गरी उसलाई फरक जिम्मेवारी दिने परिस्थिति हामीले निर्माण गर्नुपर्छ ।” नेतृ पाण्डेका अनुसार एक पटक शासन सत्तामा पुगिसकेकाहरु पटक–पटक त्यही पुग्न खोज्ने र उनीहरुको बीचको आ–आफ्नै स्वार्थको कारण नागरिकले पनि दुख पाउने अवस्था आएको हो ।

कांग्रेस नेता गौचनका अनुसार, विश्वमा हालसम्म अंगिकार गरेको राज्य प्रणालीमा संघीय लोकतांत्रिक गणतन्त्र नै लोककल्याणकारी राज्य व्यवस्था मानिएको छ,तर जनताले गणतन्त्रको अनुभूति गर्ने गरी यसको विकास गर्नुपर्छ ।

त्यसो भए गणतन्त्रमा केही नभएकै होत? यो पक्कै पनि होइन् । गणतन्त्र स्थापनापछि संविधानसभाका दुईवटा निर्वाचन, संविधान निर्माण र त्यही संविधानका आधारमा तीन तहको सरकार बन्यो । तर संस्कार र शैली नबलिँदा जनताका दुखः कष्ट गणतन्त्र अघि जस्तो थियो अहिले त्यस्तै छ । उनीहरुको सामाजिक,सांकृतिक र आर्थिक विकास हुन सकेको छैन । भ्रष्टाचार र बेथिति मौलाउँदो छ । शासन सत्ता र प्रशासनमा बस्नेहरुको आफूलाई विशेष ठान्ने प्रवृत्ति र संस्कार उस्तै छ । राजनीतिमा कमाउने र जसरी पनि सत्तामै रहिरहने भन्ने धारणामा अघि बढेको छ ।

प्रकाशित मिति: २०७८,जेष्ठ,१५,शनिवार १२:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीसहितका प्रस्ताव गरेका छन् । मिश्रले सोमवार ४४ पृष्ठ लामो धारणा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ । आज निर्वाचन आयोगले बहुमत सदस्यहरुको उपस्थितीपछि

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओलीसरहको जिम्मेवारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रेशम चौधरी पार्टीको आधिकारिकता विवादमा तटस्थ बसेका छन्। जसपाको आधिकारिकता विवाद निरुपणका

ताजा समाचार

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,११,सोमवार १८:१४