जसपाभित्रको दुई धार : पहिले छाँया अहिले घाम

जनता समाजवादी पार्टी (जसपा) व्यवहारिक रुपमा फुटेको छ । प्राविधिक रुपमा यसको औपचारिक घोषणा हुन मात्रै बाँकी छ ।

एमालेलाई छिन्न भिन्न पारेको आरोप लागेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्ततः जसपालाई समेत फुटाएरै छोडेको जसपाको आरोप छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरले एक अर्कालाई मंगलवार पार्टीबाट निष्काशन गरेका छन् । यसरी हेर्दा जसपाका दुवै जना अध्यक्ष पार्टीको साधारण सदस्य समेत छैनन् । जसपामा प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने र नगर्ने भन्ने विवाद हो ।

ओलीलाई समर्थन गर्ने पक्षमा जसपाभित्रको पूर्व राजपा धार जसमा अध्यक्ष ठाकुर,राजेन्द्र महतो लगायतका नेता छन् भने अध्यक्ष यादव र डा. बाबुराम भट्टराई पक्ष दुई–दुई पटक प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक कदम चालेका ओलीलाई समर्थन गर्नु हुँदैन भन्ने पक्षमा रहेका छन् । मंगलवार अध्यक्ष यादवसहित बहुमत कार्यकारिणी सदस्य उपस्थित बैठकले ठाकुर,महतो लगायत लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको सदस्य समेत नरहनेगरी निष्काशन गरेको थियो । त्यसको केहीबेरमा ठाकुरले पनि यादवलाई साधारण सदस्यता नै नरहने गरी पार्टीबाट निष्काशन गरे । कार्यकारिणी समितिमा बहुमत सदस्य यादव पक्षमा छन् भने ठाकुर पक्षमा कम छन् ।

गत वर्ष एकता गर्दा (तत्कालीन संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी) राजपाको पक्षबाट २६ र समाजवादीको पक्षबाट २५ जना कार्यकारिणी सदस्य रहनेगरी पार्टी एकता भएको थियो । तर अहिले पार्टीमा यादव बहुमतमा छन् । सांसद संख्याको हिसावमा भने प्रधानमन्त्री ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गर्नु अघि ठाकुर पक्षमा २० जना सांसद र यादवको पक्षमा १२ जना खुलेका थिए । तर गत पुस ५ मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा भने जसपाले एक भएर ओलीको कदमको बिरोध गरेको थियो । तर दोस्रो पटक जेठ ७ मा प्रतिनिधि सभा विघटन गर्दा ठाकुर पक्षले ओलीको कदमको समर्थन गर्‍यो भने यादव पक्ष बिरोधमा रहयो । ओलीको कदमको शुरुदेखि विरोध गरिरहेको यादव पक्ष आफ्नो अडानबाट पछि हटेको छैन । तर ठाकुर पक्ष सत्तामा ८ जना मन्त्री र २ जना राज्यमन्त्री पाउने भएपछि ओलीको पक्षमा देखियो ।

पार्टी फुटाइहाल्न ठाकुर पक्षलाई तत्काल असहज

पार्टी फुटाएरै अथवा पूर्व राजपा धारलाई ब्यूताएर जसरी पनि सरकारमा सहभागी बन्न खोजेको ठाकुर पक्षमा अहिले कार्यकारिणी समितिमा बहुमत छैन । पार्टी विभाजनका लागि सांसद र केन्दीय कार्यकारिणी सदस्यको संख्या ४० प्रतिशत चाहिन्छ,तर ठाकुरलाई प्रतिनिधि सभा विघटन भएको अवस्थामा संघीय संसद राष्ट्रिय सभाका ३ जना मध्ये १ जनाको समर्थन छ भने केन्द्रीय कार्यकारिणी समितिमा ३८ प्रतिशत सदस्यको समर्थन छ । यादव पक्षका एक नेता भन्छन्,“ठाकुर र महतो बहुमत पुर्याउन विभिन्न शक्ति केन्द्रमा कुदेका छन् ।”

ठाकुर र महतोको सत्तामा जाने चाहना पूरा गर्न पार्टी फुटाउने अवस्थामा कोही छैन । तर ठाकुर पक्षका एक नेता भन्छन् “यादव पक्षसँग सैद्धान्तिक कुरा मिल्न सक्दैन त्यसकारण ढिलो चाँडो फुट अवश्य नै हुन्छ ।” यादव र ठाकुर दुबै पक्षले एक अर्कालाई गरेको कारवाहीको व्यहोरा निर्वाचन आयोगमा पुगिसकेको छ । दुवै पक्षले दल दर्ता किताब समेत अद्यावधिक गरिदिन आयोगसँग आग्रह गरेका थिए ।

तर आयोगले बुधवार अध्यक्ष ठाकुरसँग केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको निर्णयको हस्ताक्षर माग गरेको छ । ठाकुरले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको हस्ताक्षर नभएको पत्र लेखेर मंगलवार आयोगलाई पार्टीको कागजात अद्यावधिक गर्न आग्रह गरेका थिए । तर आयोगले पत्र अपुरो रहेको भन्दै बुधवार नै ठाकुरलाई पत्र पठाएको हो । यादवले केन्द्रीय कार्यकारिणी समितिको हस्ताक्षरसहित पत्र बुझाएकाले उनीसँग आयोगले हस्ताक्षर माग गरेको छैन ।

ठाकुर पक्षका अर्का नेता अर्जुन उप्रेती भन्छन, “यादव र भट्टराइको अकर्मण्यताका कारण पार्टीलाई आघात पुगेको निश्चय नै हो । तर पार्टी भने कुनै पनि हालतमा नफुट्ने र मधेशका मुद्धामा ठाकुरले सरकारसँग राखेका अडान निकै सकारात्मक छ ।”

ठाकुर पक्षले मधेस आन्दोलनताका सरकारले आफ्ना कार्यकर्तालाई लगाएको मुद्धा फिर्ता, नागरिकता अध्यादेश,संविधान संसोधनका लागि कार्यदल गठन जस्ता विषयलाइ उपलब्धी मानेको छ । तर यादव पक्षले भने ठाकुर पक्षले पार्टी फुटाएर सत्तामा जाने भर्‍याङ मात्रै खोजेको बताउने गरेको छ । दुइतिहाइ बहुमत रहेका बेला संविधान संसोधन नगरेका ओलीले अब गर्छन् भन्ने आधार छैन भन्ने यो पक्षको आरोप छ त्यस्तै रेशम चौधरीको रिहाइ पनि हुन सकेको छैन । यादव पक्षका नेता गंगानारायण श्रेष्ठ भन्छन्,“जसपामा फुटने वा नफुटने कुरा होइन । यो त पार्टीको विधि विधान अनुसार पार्टी हित बिपरित गएका ठाकुर सहित केही नेतालाई कारवाही गरिएको हो ।” नेता श्रेष्ठका अनुसार,पूर्व समाजवादीले पूर्व राजपालाई कारवाही गर्न खोजेको भन्ने होइन,दुवै पार्टी एकीकरण भएर जसपा बनेपछि विधानमा भएको जुन स्पष्ट व्यवस्था छ,त्यसैका आधारमा पार्टी हित विपरित जानेलाई कारवाही गरिएको हो । पार्टीको विधि प्रक्रियाबाट बहुमतले कारवाही गरेको हो । पार्टीको विधि विधान सबैले मान्नु पर्छ भन्ने श्रेष्ठको भनाई छ ।

ओलीले गर्दा जुट्यो,ओलीकै कारण फुट्दै

२०७७ वैशाख १० मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर जनता समाजवादी पार्टी (जसपा) नेपाल स्थापना भएको थियो । २०७७ वैशाख ८ मा प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी कानुन अध्यादेश मार्फत् संशोधन गर्ने अध्यादेश ल्याएपछि त्यतिवेला दुवै पार्टी तरंगित भएर ओलीले समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीलाई फुटाउन खोजेको भन्दै दुवैले रातारात पार्टी एकता गरेका थिए । उनीहरुलाई यो एकता आफ्नो पार्टीलाई टुक्राउन नदिने आपतकालीन परिस्थितिले सिर्जना गरिदिएको मोड थियो । प्रधानमन्त्री ओलीकै कारण एक हुने मोडमा पुगेको जसपा फेरि ओलीकै कारण फुटको संघारमा पुगेको पुगेको छ ।

ओलीमाथि गत वर्ष तत्कालीन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गर्न लगाएर सत्ता बलियो पार्न खोजेको आरोप पनि लागेको थियो । जसपाका सबै नेता कार्यकर्ता पार्टी नफुटोस भन्ने चाहनामा छन । तर आपसी खिचातानका कारण पार्टी व्यवहारिक रुपमा फुटिसकेको कतिपय नेताको स्वीकारोक्ति छ ।

लेखकबाट थप

व्यवस्था फेरियो, अवस्था फेरिएन

त्यो कालो शुक्रवार : बिलियार्ड हलमा राजा वीरेन्द्रको वंशनाश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?