जारी भयो नेपालको नयाँ नक्सा : अतिक्रमित भूभाग समेटिएपछि सामाजिक सञ्जालमा खुसी साटासाट

काठमाडौं – नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित भारतले अतिक्रमण गरेको आफ्नो भू-भाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेको छ । आज बुधबार औपचारिक रुपमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा सार्वजनिक गरेको हो ।

जहाँ ७५३ वटै स्थानीय तह र अन्तर्राष्ट्रिय सीमाना तोकिएको छ । यसअघि मंगलबार मुख्य सचिव लोकदर्शन रेग्मीले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा प्रमाणीकरण गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते संसदमा सम्बोधन गर्ने क्रममा जसरी पनि आफ्नो भूभाग फिर्ता ल्याउने अडान लिएको बताएका भोलिपल्ट औपचारीक रुपमा मिचिएको भूमिसहितको नक्सा सार्वजनिक गरिएको हो ।

मिचिएको भूभाग समेटेर नक्सा जारी गरेपछि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नयाँ नक्साले विश्व मानचित्र बदलिएको बताइन्। उनले नेपालीको मनोबल उच्च बनाएको पनि बताउँदै भनिन्, ”पर्याप्त प्रमाण तथ्य र ईतिहासको पाना हेरेर सार्वजनिक गरेका हौँ ।”

उक्त अतिक्रमित भूमी बाहेक नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर थियो । नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ ।नेपालको नयाँ नक्सा सार्वजनिक, भूभाग ३ सय ३५ वर्ग किलोमिटर बढ्यो

यसैबीच नेपालीहरुले अतिक्रमित भूमिसहितको नक्सा जारी गरेकोमा सरकारलाई धन्यवाद् लेख्दै अब नक्सा हाम्रो हातमा जमिन अर्कोको साथमा नहोस् भन्ने कामना गर्दै सुझाव दिएका छन् ।

सामाजिक सञ्जालका विभिन्न माध्यमहरुमा प्रयोगकर्ताले नेपालको नयाँ नक्सासहितको फोटो, फूटेज, क्षेत्रफल सेयर गरेका छन् ।

एक साताअघि नेपालको भूमि हुँदै मानसरोवर जोड्ने बाटो खनेर उद्घाटन गरेको भारतले यसबारेमा नेपालसँग कोरोनाको महामारीपछि सल्लाह गर्ने बताएको थियो ।

यो पनि पढ्नुहोस् । 

मनिषा कोईरालाको पक्षमा उभिए कमल थापा, भारतीय टिप्पणीको विरोध गर्दै यस्तो लेखे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?