काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीका नवनिर्वाचित सभापति गगनकुमार थापालाई बधाई दिँदै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न आग्रह गरेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत केसीले अत्यधिक बहुमतका साथ सभापतिमा निर्वाचित भएकोमा थापालाई बधाई दिएका हुन् ।
उनले थापाको विजयलाई उनको निष्ठा, सिद्धान्तप्रतिको अडान, निर्भीक साहस र जनसेवाप्रतिको समर्पणमाथि पार्टीका कार्यकर्ता तथा आम नागरिकले गरेको विश्वासको प्रमाणका रूपमा उल्लेख गरेका छन् ।
केसीले सर्वसम्मत रूपमा निर्वाचित वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र उपसभापति पुष्पा भुसाललाई पनि बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।
निर्वाचनमा हार र जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उनले प्रतिस्पर्धापछि पार्टीलाई एकताबद्ध बनाउनु सबैको दायित्व भएको बताएका छन् । प्रजातन्त्रको वास्तविक सौन्दर्य प्रतिस्पर्धापछि एकता कायम राख्न सक्नुमा रहेको उनको भनाइ छ ।
थापाको नेतृत्वलाई पार्टीमा वैचारिक तथा व्यावहारिक रूपान्तरणको महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै केसीले सबै विचार र पक्षलाई समेटेर सङ्गठनलाई बलियो, समावेशी र अनुशासित बनाउनुपर्नेमा जोड दिएका छन् ।
उनले युवा पुस्ताको भरोसा र आम नागरिकको विश्वासलाई आत्मसात् गर्दै पारदर्शी कार्यशैली, सुदृढ एकता र परिणाममुखी कदमका साथ अघि बढ्न नयाँ नेतृत्वलाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया