उपचुनावको रहस्य र यथार्थ !

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति खराब भएकोले आफ्नो चीन भ्रमण स्थगित भएको आशयको वक्तव्य प्रचण्डले दिएपछि ओलीबाट आफू स्वस्थ भएको प्रमाणका रुपमा भिडियो वक्तव्य बाहिर ल्याए ।

देशका विभिन्न ५२ स्थानमा मंसिर १४ गते सम्पन्न उपनिर्वाचन आजसम्मको सबभन्दा ठूलो उपनिर्वाचन मात्र होइन, पार्टीहरूका लागि लोकप्रियतामापक माध्यमका रुपमा पनि आयो, जो गेम चेन्जरको रुपमा नभए पनि धेरैवटा यथार्थलाई यसले संकेत गरेको छ । ती यथार्थ कुनै महत्वपूर्ण छन् भने कुनै अर्थपूर्ण छन् । सत्तारुढ नेकपाभित्रको वास्तविकतालाई पनि चुनाबले देखाईदिएको छ । यो उपनिर्वाचन पार्टीहरूको जनमत, जनाधार र लोकप्रियता जाँच्ने मापदण्डको रुपमा सम्पन्न भएको छ । जनताले कांग्रेस र कम्युनिस्टलाई नै भोट दिएर सनातन मतदान शैली नै अपनाएको देखाए ।

उपनिर्वाचनमा हार–जीतको परिणामले सत्ता वा प्रतिपक्षको संरचना र हैसियतमा खासै परिवर्तन नदेखाउने भएकोले यसको महत्व जनस्तरमा पार्टीहरू कति पानीमा छन् भनी मापन गर्ने माध्यम हो । ३७ जिल्लाका करिब साढेचार लाखभन्दा बढी कुल मतदातामध्ये लगभग तीनलाख मतदाता सहभागी भएको यस उपनिर्वाचनले सबै पार्टीहरूको जनाधारको नमूना–अवस्थाको परिदृश्य दिएको छ । नेपाली कांग्रेसका लागि त हालैको निर्वाचनले केही उपहार र थप उत्साह दिएको छ । कांग्रेस प्रदेशसभामा एक स्थान (भक्तपुर–१ क), धरान उपमहानगरपालिकाको मेयर र वडाध्यक्ष १२ स्थानमा निर्वाचित भएकोले नेकपाकै नेताहरूलाई समेत आश्चर्यमा पारिदियो । धरानमा कांग्रेसलाई विजय मिल्नु कांग्रेसको उपलब्धी हो भने नेकपाका लागि गतिलो धक्का हो ।
‘एकलौटी वामपन्थी गढ’ भनिएको धरानजस्तो पहाड र मधेसको संगमस्थल, जहाँ कम्युनिस्टहरूको बर्चश्व रहिआएको थियो, त्यहाँ दुईतिहाई समर्थनको सशक्त कम्युनिस्ट सरकार भएको बेलामा काँग्रेसबाट मेयरकै पदमा निर्वाचित हुनुलाई महत्वपूर्ण र सन्देशमूलक उपलब्धी मान्नुपर्छ । ३ नं. प्रदेशको सांसद र धरान नगर, पहिले यी दुवै स्थान वर्तमान नेकपाको पक्षमा थिए ।

पूर्वमाओवादी र पूर्वएमाले हानथाप ः
कास्कीमा पूर्वएमाले पृष्ठभूमीकी विद्या भट्टराई अधिकारीलाई पूर्वमाओवादी पक्षले अनेक आशंकाका बीच पूर्णसमर्थन ग¥यो । धेरै महिला मतलाई सहानुभूतिका साथ आकर्षित गर्नसक्नु विद्याको पनि विशेषता भयो । त्यसैले दिवंगत पतिको उत्तराधिकारीको रुपमा विधवा (पत्नी) को विजय सहज भयो । त्यसमाथि मंसिर ७ गते कास्कीको चुनावी सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको सुझबुझहिन र नबुझिने भाषणले पनि नेकपाको पक्षमा मत बढाएर विजयी हुन सहज बनाईदियो । सो सभामा देउबाले भनेका थिए, “भारतले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर नै कालापानी क्षेत्रलाई आफ्नो नक्सामा मिलाएर छापेको हो, यसै छाप्छ ?” नेकपाका स्थानीय कार्यकर्ताहरू भन्छन्, “देउवाजीले ओलीका बिरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिएपछि हामीले त्यसलाई लिएर ६ सय भोट बढाउन सक्यौँ ।”

पूर्वएमाले र पूर्वमाओवादी दुई पार्टीको एकीकरण भएर बनेको नेकपाले पहिलोपटक एउटै निर्वाचन चिन्हमा उम्मेद्वारी दिएको र उपनिर्वाचनमा सत्ता र सरकारी साधनको अधिकतम दुरुपयोग एवं निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको भए पनि मत बढेर जानुपर्नेमा उल्टो नेकपाको पक्षमा २०७४ कोभन्दा जनमत उल्लेखनीय रुपमा हृास आएको छ, जब कि ०७४ को स्थानीय निर्वाचनमा यी दुवै पार्टी बेग्लाबेग्लै चुनावमा भाग लिँदा एमाले एक्लैले आजकोभन्दा राम्रो भोट लिएको थियो । तर भक्तपुर–१ ‘क’ क्षेत्रको चुनाबमा पूर्वमाओवादी पृष्ठभूमीका र नेकपा अध्यक्ष प्रचण्ड निकट मानिएका सांसद उम्मेद्वार डीपी ढकाललाई पूर्वएमाले पृष्ठभूमीका कार्यकर्ताको सहयोग रहेन । चितवनको भरतपुर मनपा–१६ लगायतका अन्य २ वटा वडाध्यक्षहरूमा कांग्रेसको विजयभित्र एमाले र माओवादी पूर्वाग्रहपूर्ण असहयोगको परिणाम मिसिएकोलाई इन्कार गर्न नमिल्ला । रौतहटको गढीमाई नपा–२, दाङको घोराही उपमनपा–१६, पाँचथरको हिलिहाङ गापा–७, मोरङको धनपालथान गापा–२, अर्घाखाँचीको मालारानी गापा–३, बैतडीको दोगडाकेदार गापा–४ मा पहिले तत्कालीन एमालेले जितेकोमा यसपाली कांग्रेस निर्वाचित भयो, जसमा नेकपाको आन्तरिक हानथाप धेरै वा थोरै मिसिएको थियो । धरानको ७ नं. वडामा नेपाली काँग्रेसका सुवर्ण पालिखे नेकपाका जीवनराज सुवेदीभन्दा मात्र एक मतले पराजित भएको उदाहरणले पनि यी दुई पार्टीको प्रतिष्पर्धालाई आँकलन गर्न सकिन्छ । हानथाप र खुट्टा तानातानको खेल सो पार्टीभित्र एकदमै भईरहेको यस्ता प्रमाण अरु पनि छन् ।
हानथापको राजनीतिबारे हालैको एउटा घटनाबाट बुझौँ ।

नेकपा अध्यक्ष प्रचण्ड ठूलो दलबलसहित चीनको भ्रमणमा जाने कार्यक्रम एकाएक रोकियो । भ्रमण रोक्नुपर्ने कारण बारे प्रचण्डले भने, “पार्टीका अर्का अध्यक्षलाई अस्पतालको शय्यामा छोडेर आफू विदेश भ्रमणमा जाँदा राम्रो सन्देश नजाने भएकोले भ्रमणको मिति पर सरेकोमात्र हो, रद्द भएको होइन ।” प्रधानमन्त्री तथा अर्का पार्टी अध्यक्ष ओलीको स्वास्थ्य अवस्था गम्भीर छ भन्ने देखाउँदै कुनै पनि बेला आपतकालीन अवस्था आउने सम्भावनाले गर्दा कतै नगई सजग भएर बस्नुपरेको भन्ने आसय दिँदै प्रचण्डले बोलिदिएपछि ओलीलाई सो कुराले घोच्यो । तत्कालै प्रधानमन्त्री ओलीले अस्पतालबाटै आफू स्वस्थ भएको प्रमाणित गर्दै श्रब्य–दृश्य वक्तव्य प्रशारित गर्नुप¥यो । वास्तबमा प्रचण्डले चिनिया नेताहरूसँगको भेटमा गर्नुपर्ने वार्ताको तयारी नपुगेकोले भ्रमण पर सार्नुपरेको सत्यलाई ओलीको स्वास्थ्य खराब छ भन्ने अर्थमा लैजानु, भित्रभित्रै खुट्टा तानातानको खेल हो, जो भक्तपुरको प्रदेश सांसदको चुनाबमा पनि प्रकट भयो ।

वैकल्पिक पार्टीप्रति जनताको मोहभंग

तेस्रो वा वैकल्पिक शक्ति हुने भनिएका विवेकशील साझा पार्टी वा संघीय समाजवादी पार्टीहरूप्रति मतदाताको निराशा र मोहभंगको अवस्था देखापरेको छ । संघीय समाजवादी पार्टी दुई नम्बर प्रैदेशका केही सिटमा सीमित भएको छ । एकातिर हिन्दुत्वको मोह मतदातामा बढिरहेको छ, तर अर्कातिर हिन्दु धर्मको राजनीतिमा टिकेका राप्रपाजस्ता पार्टीहरू झन् पछाडि भएका छन् । तर निर्वाचनद्वारा आममतदाताको साझा मनोभाव र झुकाव दुईपार्टी पद्धतितिर आकर्षित भएको भनी अहिले नै ठहर गर्नु अपरिपक्वता हुनजान्छ । त्यसैले सत्तारुढ, मूख्य विपक्षी र साना पार्टीहरू सबैले उपनिर्वाचनमा व्यक्त जनमतबारे व्यवहार उपयोगी समीक्षा गर्नु जरुरी भएको छ ।

पार्टीहरूको प्रतिक्रिया

यो उपनिर्वाचनको परिणामलाई मूलधारका पार्टीहरूले कुन अर्थमा लिएका छन् भन्ने सवालको उत्तर आम मतदाताले पार्टीहरूबाटै जान्न चाहेका छन् । चुनावी परिणामले पार्टीहरूका गतिविधिमा के कस्तो प्रभाव र निर्वाचन उत्तर क्रियाशीलता ल्याउला भन्ने जिज्ञासा सचेत नागरिकहरूमा स्वतः उठ्ने कुरा हो । त्यसकारण सबै पार्टीहरूले आ–आफ्ना समीक्षा बैठकद्वारा यस उपनिर्वाचनको परिणामलाई परिभाषित गर्नुपर्छ । निर्वाचन भएका जिल्लाहरूबाट प्रतिवेदन लिनु जिवन्त पार्टीको जिम्मेवारी हो ।

लोकपथमा प्रकाशित  यो आलेख पढ्न छुटाउनुभएको थियो कि ?

के कांग्रेसले दिशा गुमाएकै हो ?
चर्चित नेपालीहरुको रोचक साइनो : को कसको के नाता पर्छ ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?