के कांग्रेसले दिशा गुमाएकै हो ?

‘कांग्रेस अहिलेकै अवस्थामा अगाडि बढे इतिहासमा किंवदन्तिको रुपमा मात्र रहने’ : प्रचण्ड

नेताहरूले अधिकारका कुरा धेरै गरिसके र सुविधा धेरै भोगिसके। जनतालाई अबकर्तब्य र जिम्मेवारीका कुरा मात्र सुन्न मन छ । नेताहरूको बोलीको ठेगान छैन, त्यसैले कुरा सुन्न भन्दा पनि त्यही अनुरुप इमानदारीका साथ क्रिया शील भएको हेर्न प्रतीक्षारत छ ।

कांग्रेसले आफूभित्रका विवादलाई मिलाएर र आफू बाहिरका विवादलाई चिरेर अगाडि बढेको लामो इतिहास र अनुभव छ । त्यो इतिहासको आलोक र अनुभवले दिएको कौशलद्वारा आजका विवादहरू मिलाउन सकिन्छ । तर यसको केन्द्रीय तहमा विद्यमान अस्त ब्यस्तता, संगठनमा देखिएको छरपस्टता, अनुशासनहिनता र निर्णयहिनताले खेदजनक परिस्थितिमा पु¥याएको र सबैजसो कांग्रेसी मनलाई चिन्तित तुल्याएको कुन नेताले अनुभूत गरेको होला भन्न गाह्रो छ । कार्यकर्ताहरूको विवाद नेताहरूले मिलाउँछन्, तर नेताहरूको विवाद कार्यकर्ताहरूका निष्पक्ष विचारका सहायताले मिलाउनुपर्छ । कार्यकर्ताहरूले नेताका कुरा धेरै सुनिसके, यस मामिलामा अब नेताहरूले कार्यकर्ताका आवाज सुन्नुपर्छ । यो नै आन्तरिक लोकतन्त्रको उच्चतम प्रयोग हो । चिप्लोले लडाउँछ खस्रोले अडाउँछ । त्यसैले विचार राख्दा कुन दाई रिसाउला वा कुन दाई खुसाउला भन्ने हिसाबकिताब वा मोलाहिजाबाट होइन, सिङ्गो पार्टीको हित कुन उपायले हुन्छ, त्यस बाटोमा जानुपर्छ । जिम्मेवार कांग्रेसजनबाट आमरुपमा यही अपेक्षा गरिएको नेतृत्वले बुझोस् ।

राजनीतिमा सफल हुने स्वाभाविक चाहना राख्दा नैतिकतालाई वाधक ठान्ने मनोभाव बढ्न थाल्यो भने त्यो आत्मघातक हुनपुग्छ । आफ्ना आदर्शको सार्थकता र आकांक्षाको परिपूर्ति होस् भन्ने कामना राजनीतिमा लागेको हरेक व्यक्तिले गरिरहेकै हुन्छ । यो सहज मानवीय ध्येयमा आदर्श र आकांक्षाबीच सन्तुलन हुुनुपर्छ । दुवैबीच सन्तुलन भएन र आकांक्षा मात्र अगाडि बढ्यो भने आदर्श मरेर जान्छ । आदर्श मारेर आकांक्षा मात्र बोकी हिँडेको व्यक्ति नेता वा कार्यकर्ताभन्दा पनि अराजकतावादी वा अवसरवादीका रूपमा चिनिन्छ । अझ भनौँ गति छाडा र खतरनाक हुन्छ । आदर्शवादी राजनीति मात्र बोकेर हि“ड्ने मान्छे आजको जमानामा पाउन निकै कठिन छ । ऋषिमुनि वा जोगी बन्न राजनीतिमा आएको कोही देखिन्न ।

नेकपाका अध्यक्ष प्रचण्डले हालै एउटा चुनाबी सभामा भनिदिए, “कांग्रेस अहिलेकै अवस्थामा अगाडि बढे इतिहासमा किंवदन्तिको रुपमा मात्र रहनेछ ।” ‘नयाँ नेपाल’बनाउन ‘आमूल परिवर्तन गर्ने’ भनी ‘महान जनयुद्ध’ का नाममा १० वर्षसम्म हत्या, अपहरण, लूट, विध्वंश, आतंक मच्चाई राष्ट्रिय रोदनको दुरावस्था लादेको र समाजमा टिक्न नसकेर पार्टी नै अर्कालाई बुझाएको पार्टीको मुखियाले निर्लज्ज रुपमा यस्ता वाणी ओकल्नुको अर्थलाई कांग्रेसले डरको रुपमा होइन सावधानीको अर्थमा लिँदै पार्टीको लथालिङ्ग र भताभुङ्ग अवस्थालाई सम्हालेर शक्तिसञ्चय गर्न थालिहाल्नु पर्छ । ४ वटा राजा र कम्युनिस्टहरूले लखेटे पनि किंवदन्ती हुने अवस्था नदेखेको कांग्रेसलाई, आफ्नो पार्टीलाई आतंकको पर्यायवाची र किंवदन्ती बनाएको मनुवाले चाहिँ यसो भन्न कति सुहाउने हो !

जतिसुकै अन्तर्विरोध भएपनि काँग्रेसभित्र मिल्नै नसक्ने र फुटेर जानेसम्मको विवाद केही पनि छैन । दुइटामध्ये जुनआँखा घोचे पनि आफैँलाई दुख्ने खालको अवस्था छ । यसो भन्दैमा सहमतिको नाममा अँध्यारा कोठामा १÷२ जना फ्याउरे नेता बसेर अपारदर्शी तुच्छ लेनदेन गरेकोलाई सहमति भनी मान्नु न्यायोचित हुँदैन ।सार र स्वरुप नभएको स्वार्थी सम्झौतामा सहमतिको साक्षीबस्न कसैले जानु हुँदैन । त्यसैले वृहतएकताको विकल्प छैन, गुट र फुटको भविष्य छैन । पार्टीको ‘प’ सँगै फुटको ‘फ’पनि ऐँजेरूजस्तै टाँसिएको हुन्छ भन्ने जिम्मेवारीपूर्ण सतर्कता त लिनैपर्छ । पार्टीका संस्थापक राजनेताहरूले सिकाएको मन्त्र– बहसमा विविधता र निर्णयमा एकता नै कांग्रेसको लोकतान्त्रिक संस्कार तथा परम्पराको चुरोलाई कुनै नेताले नछोडुन्, खबरदार !

पार्टी अनुशासन कसले मान्नुपर्ने कसले नमाने पनिहुने भन्ने अलग अलग व्यवहार जन्मिन थाल्यो भने त्यो अर्को खेदजनकस्थिति हुन्छ । निरर्थक आत्मविश्वास र रणनीतिको अभावले गर्दा काग्रेस २०७४ का निर्वाचनहरूमा दोस्रो स्थानमा झरेको हो । एकताबद्ध अल्पमतले असंगठित बहुमतलाई पराजित गर्छ भन्ने उक्तनिर्वाचनको शिक्षा हो । पार्टीले कृत्रिम रुपबाट भोग्नुपरेको धक्का र यसका कारकतत्वको कदर हुने, तर समर्पितहरूले आफ्नो ठाउँ आफै ले खोज्नुपर्ने हो भने त्यो नेतृत्वको दोष हो र असफल नेतृत्वको द्योतक हो ।आजको कांग्रेसमा नेतृत्वबाटै यस्तो प्रवृत्ति देखाईँदैछ । यो आरोप होइन जल्दोबल्दो यथार्थ हो ।
पार्टी चौधौँ महाधिवेशनको चरणमा पुगिसक्यो, तर पनि संगठनात्मक पूर्णता दिन सकेको र चाहेको छैन । केन्द्रीय विभाग र भातृसंस्थाहरूलाई आफ्नो खल्तीको खेलौना बनाउन नपाउँदा असंगठित र अन्यौलपूर्ण अवस्थामा राखिएको छ ।

यो दुरावस्थालाई इतिहासले भावी पुस्ताको लागि हेरिरहेकोले इतिहासको आँखा छल्न सकिन्न । संसदीय भूमिकामा प्रमुख विपक्षी दलको जिम्मेवारीमा शिथिलताको कारण के हो ? सत्ताबाट लोकतन्त्रको गला अँठ्याउँदै भ्रष्टाचार र आपराधिक क्रियाकलापका एकपछि अर्को भयानक र खतरनाक काण्डहरू मच्चाई रहँदा पनि महाभारतमा दुर्योधनको सभाका मूकदर्शक, लाचार र विवश सदस्यजस्तो मनोदशा कांग्रेसका सांसदहरूलाई केले गरायो ? यो अब प्रश्नमात्र रहेन रहस्यमय पहेली बन्दैछ । खुद्रा–मसिनाउपलब्धी र समाजमा सरकार विरोधी लहर उठेकोमा केवल रमाउनु, शीत चाटेर प्यास मेट्न खोज्नुृजस्तै हो । त्यसबाट काँग्रेसको अभिभारा पूरा हुँदैन ।

सत्तापक्षलाई जनताले आसाको भोट दिएका थिए । काँग्रेसले भरोसाको भोट पाएको हो । ०७४ को निर्वाचनमा आसाको बहुमत र भरोसाको अल्पमत भएकोले काँग्रेसको भूमिका परिवर्तनमात्र भयो, जिम्मेवारीको मात्रा घटेको होइन । हिजोको आसा आज तीब्र गतिले नैराश्यमा परिवर्तन भइरहेको छ । लोकतन्त्रवादी पार्टीकै सेरोफेरोमा सत्ताबाटै लोकतन्त्रको हुर्मत लिने हर्कत भइरहेको छ । जनतामा व्याप्त यो निरासालाई भरोसामा बदल्ने रणनीति काँग्रेससँग भएनभने जनताको नजरमा यो पार्टी पनि ‘एउटै ड्याङ्का मूला’हुन बेर लाग्नेछैन ।

आजको नयाँ पुस्ता पश्चिम एशियामा ट्विटर वा फेसबुकजस्ता सामाजिक सन्जालद्वारा ल्याइएका लोकतान्त्रिकवा स्वतन्त्रतावादी आन्दोलनको संवाहक हो, कलर रिभोलुशन वा चेहराविहिन आमक्रान्ति (फेसलेस रिभोलुशन) को रचयिता हो । चीनमा हङ्कङ्जस्तै बढ्दै आएको स्वतन्त्रता खोज्ने शक्ति हो । भारतमा जनस्तरबाट चलिरहेको कुशासन र भ्रष्टाचार विरोधी आन्दोलनको सारथी हो । त्यो आन्दोलनलाई वर्तमान भारतीय सत्ता नेतृत्वले समात्न सफल भयो र ७ महिनाअघि निर्वाचन जित्यो । सूचनालाई शक्तिको आधार मानेर सक्रिय रहेका नेपाली यूवाहरू विश्वब्यापी रूपबाट उठेका यस्ता लहरहरूबाट अलग अलग रहन सक्दैनन् । डा. गोविन्द के.सीले चलाएको चिकित्साशिक्षामा सुधार सत्याग्रह, निर्मलापन्तको बलात्कार र हत्याको बिरुद्ध वा पत्रकार रवि लामिछानेको पक्षमा उठेको जनसमर्थनको लहरमा सूचना प्रविधिसँग गाँसिएको अन्याय विरोधी त्यही युवा समुदायको विद्रोही पुस्ता हो । नयाँ पुस्ताको रूचि र आवश्यकतालाई नेतृत्वले सम्वोधन गर्न नसक्दा संसारका ठुलठुला शासक ढलेनन् मात्र, तिनको उछित्तो काड्यो यही पुस्ताले । यो सिर्जनशील र शक्तिशाली पुस्ताको सहभागिता नेपाली कांग्रेसलाई चाहिएको छ । पार्टीको सुन्दर इतिहास देखाएर तर पुरानै ढर्रा, बासी विचार र लथालिङ्गचालाले नयाँ पुस्ताको सहभागिता हुनसक्दैन भन्ने पनि छर्लङ्ग छ । वास्तवमा जिम्मेवार सत्ता र प्रतिपक्षका लागि लोकतन्त्र भनेको बोलेर सुनाउने होइन गरेर देखाउने पद्धति हो ।आजको परिस्थितिको वस्तुपरक विश्लेषण गरेर कदमचलाउनु उचित हुन्छ । जान्ने हुनु र जानेको हुनुमा फरक छ, त्यसैले छिपछिपे ज्ञान र टालटुले समाधानबाट अब चल्दैन ।

त्यसैले सर्वप्रथम पार्टीमा पूर्णएकता र त्यसद्वारा शक्ति सञ्चय वर्तमानको अनिवार्यता हो ।आफूले गरेका गल्ती–कमजोरी र कार्यशैलीमा देखापरेका असंगतिपूर्ण पक्षलाई साहसपूर्वक सच्याउँदै एकतापूर्ण ढङ्गले जानुपर्छ भन्ने प्रयासका लागि प्रत्येक नेता आ–आफ्नो स्थानबाट सतत प्रयत्न लागेकै हुनुपर्छ । राजनीति जनताका बीचमा निरन्तर र अथक अभ्यास हो भने पार्टी निरन्तर प्रवाह हो । पानीले आपूmमा आइलागेको फोहोर वा प्रदूषण निरन्तर प्रवाहबाटै सुध्याउँदै र सच्याउँदै लैजाने उदाहरणीय विधिमा पार्टी पनि त्यस्तै प्रवाह हो । यसले आफ्नो गतिद्वारा नै आपूmलाई चोख्याउँदै र करेण्ट उत्पन्नगर्दै समाधान लिन्छ ।गतिहिन पार्टी आफैँमा हराएर जाने जोखिमलाई पनि नेतृत्वले हेक्का राख्नुपर्छ । प्राविधिक रूपको वा टालटुले एकताले मात्रहुँदैन, त्यो फगत फुटेको हाँडी जोडेजस्तो हुन्छ ।

कांग्रेसभित्र भावनात्मक तथा भातृत्वपूर्ण एकता बनाउनुपर्छ, बनाउन सकिन्छ । फुट परस्त पार्टीको जनतामा कुनै भाउ छैन भन्ने धरातलीय यथार्थ कम से कम काग्रेसले अनिवार्य बुझ्नैपर्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?