चर्चित नेपालीहरुको रोचक साइनो : को कसको के नाता पर्छ ?

नेकपा, कांग्रेस राजपा र राजावादीसम्म यस्तो कनेक्सन

काठमाडौं – सम्बन्ध विना समाज रहला ? अहँ त्यो फगत कल्पना मात्रै हुनेछ । व्यक्ति हुनु भनेको कुनै न कुनै रुपमा सम्बन्ध कायम हुनु नै हो । यहाँ नेपाली राजनीतिक वृत्त लगायत विभिन्न क्षेत्रमा चर्चित व्यक्तिहरुको सम्बन्धको नालीबेली र सम्बन्धबिच्छेदको विषयमा एक सामाग्री प्रस्तुत गरिएको छ ।

नेपाली कांग्रेस
जननायक बीपी कोइराला, गिरिजाप्रसाद र सुशील कोइरालाका आमाहरू दिदी बैनी हुन्, बीपीकी आमा दिब्या जेठी, सुशीलकी आमा कुमुदिनीदेवी साहिँली । स्व. बरिष्ठ अधिवक्ता गणेशराज शर्मा बीपीका साढुभाई हुन् । काँग्रेसका संस्थापक नेता किसुनजी मामाका छोरा हुन् भने कम्युनिष्ट पार्टीबाट पञ्चायत प्रवेश गरेका पूर्वपरराष्ट्रमन्त्री (८२ वर्षको उमेरमा सगरमाथा चढ्न जाँदा आधारशिबिरमै दिवङ्गत) शैलेन्द्रकुमार उपाध्याय फुपूका छोरा हुन् ।

स्व. मनमोहन अधिकारी तथा भरतमोहन अधिकारी बीपी कोइरालाका भानिज दाजु रामचन्द्र अधिकारीका छोराहरू हुन् । नेता स्व. महेन्द्रनारायण निधिका छोरा बिमलेन्द्र र सिन्धुलीबाट निर्वाचित पूर्वसांसद (स्व.) डा. धु्रब शर्मा साडुभाई–साडुदाई हुन् ।

दुबैले बंगाली मूलका दिदीबैनी बिहा गरेका हुन् । रेडियो नेपाल (‘प्रजातन्त्र रेडियो नेपाल’ताका २००७) की पहिलो गायिका रानुदेवी काँग्रेस नेतृ स्व. नोना कोइरालाकी बहिनी हुन् । राप्रपाका दिवंगत नेता रवीन्द्रनाथ शर्मा काँग्रेस नेतृ स्व. नोना कोइरालाका बैने–ज्वाईँ हुन् । काँग्रेस नेता आमोदप्रसाद उपाध्याय पनि नोनाका नातेदार हुन् । पुष्पा भूसाल ०१६ सालमा बीपीको क्याबिनेटका मन्त्री, पुराना काँग्रेस नेता स्व. काशिनाथ गौतमकी छोरी हुन् । उद्योगी विनोद चौधरीका ससुरा हुन् प्रख्यात क्याटरिङ् ब्यवसायी बी.एल्. शर्मा ।

दाजुभाईहरू— काँग्रेस केन्द्रीय कार्यालयका पूर्वसचिव तथा लेखक दाजु रामचन्द्र पोखरेल योजना आयोगका पूर्व सदस्य डा. जगदीशचन्द्र पोखरेल भाई र नवलपरासी काँग्रेसका पूर्वसभापति कृष्णचन्द्र ‘नेपाली’ दाजुभाई हुन् । डा. जगदीश काँग्रेस नेता योगप्रसाद उपाध्यायकी छोरी उषालाई बिवाह गरेर ज्वाईँ बनेका हुन् । उनीहरू पुराना नेता स्व. गोबद्र्धन शर्माका छोरा हुन् । काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह के.सी. दाजु नुवाकोट काँग्रेसका सभापति तथा संविधानसभाका सदस्य जगदीश्वरनरसिंह भाई, काठमाडौँ नगरपञ्चायतमा काँग्रेसबाट जननिर्वाचित पूर्वप्रधानपञ्च हरिबोल भट्टराई र संविधानसभा सदस्य मनमोहन भट्टराई दाजुभाई । डा. रामशरण महत दाजु डा. प्रकाशशरण भाई ।

काँग्रेस नेता शिबबहादुर खड्का र काँग्रेस नेतृ मीना पाण्डे दाजुबैनी । मकवानपुर काँग्रेसका पूर्व सभापति रामचन्द्र ‘माइकल’ र काँग्रेस केन्द्रीय सदस्य (पूर्व राज्यमन्त्री) डीना उपाध्याय दाजुबैनी । काँग्रेस पार्टीका बारेमा पी.एचडी गर्ने यज्ञ अधिकारी र काँग्रेसकी महिला नेतृ उमा अधिकारी पति–पत्नी ।

सर्वमान्य नेता गणेशमान सिंहकी पत्नी मंगलादेवी सिंह र कवि केदारमान ‘ब्यथित’ की पत्नी मितिनी हुन् । पूर्वसभामुख तथा मानव अधिकारकर्मी दमन ढुङ्गाना ससुरा, कान्तिपुर, नागरिक आदि समाचारपत्रहरूमा सम्पादक भईसकेका नारायण वाग्ले ज्वाईँ । काँग्रेस नेताद्वय तनहुँका रामचन्द्र पौडेल र डडेलधूराका तारिणीदत्त चटौत सम्धी हुन् । काँग्रेस नेता अर्जुननरसिंह के.सी. र काँग्रेसकै नेता गगन थापा ससुरा–ज्वाईँ हुन् , गगनले अर्जुनकी माईली छोरी डा. अन्जनासँग बिवाह गरेका हुन् । त्यस्तै नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिह केसि उनका भाई हुन् भने ट्रेड युनियन काँग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुँवर अर्जुनका माहिला बहिनी–ज्वाईँ हुन् । संविधानसभा सदस्य, प्राध्यापक संघका पूर्वअध्यक्ष श्रीमती सुप्रभा घिमिरे राष्ट्र बैंकका पूर्वगभर्नर स्व. लक्ष्मीनाथ गौतमकी छोरी तथा प्रख्यात पेटरोग विशेषज्ञ डा. मधु घिमिरेकी भाउजु हुन् । दीपकुमार उपाध्याय पूर्व अख्तियार प्रमुख राधारमण उपाध्यायका भतिजा हुन् भने पूर्व परराष्ट्र सचिव राष्ट्रसंघका नेपाल प्रतिनिधि मधुरमण आचार्य दीपकुमारका बैनी–ज्वाईँ हुन् । शेरबहादुर देउबाकी पत्नी तथा संविधानसभा सदस्य आरजु, राणा प्रधानमन्त्री जुद्ध शम्शेरका अठारौँ छोरा विनोद शम्शेर तथा राप्रपाकी नेतृ (हाल जापानका लागि राजदूत) प्रतिभा राणाकी छोरी हुन् भने पूर्वराजा ज्ञानेन्द्रकी पत्नी कोमल जुद्ध शम्शेरकी नातिनी भएकीले आरजु कोमलकी फुपू नाता पर्छिन् । काँग्रेस नेता अमरराज कैनी (तनहूँ) ले प्रभालाई विवाह गरेर पञ्चायतकालीन स्वास्थ्य सहायक मन्त्री स्व. विद्यादेवी देवकोटाका ज्वाईँ बनेका हुन् । नेता दिलबहादुर घर्ती (लमजुङ्) स्व. नेतृ शैलजा आचार्यका बहिनीज्वाईँ हुन् । महेश आचार्य र साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितका छोरा विनोद दीक्षित साढुभाई–साढुदाई हुन् ।

यस्तो पनि नाता !

रामचन्द्र पौडेलकी फुपु डा. बाबुराम भट्टराईकी माइजु हुन् । पौडेलकी बहिनीको घर डा. भट्टराईको बुढामावली हो ।

यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी डा. निशाकुशुम भण्डारीको पूर्व राष्ट्रपति डा. रामवरण यादवका नाती अभिषेक यादवसँग विवाह भएपछि उहाँहरुबिच पनि  पारिवारीक सम्बन्ध छ ।

अविवाहित :

काँग्रेस पूर्वसभापतिद्वय स्व. कृष्णप्रसाद भट्टराई, स्व. सुशील कोइराला, स्व. रामहरि जोशी, प्रदीप गिरि, पी. एल. सिंह, स्व. गोपाल पहाडी, मैयादेवी श्रेष्ठ, पुरुषोत्तम बस्नेत, फर्मुल्लाह मन्सूर, अम्बिका बस्नेत, सुशीला स्वाँर, कृष्णा अमात्य, जीवन डङ्गोल, कल्याणी रिजाल, सीता गुरूङ्, स्व. रामहरि ढुङ्गेल, रामहरि खतिवडा ।

नेपाल कम्युनिस्ट पार्टी

वरिष्ठ नेता माधवकुमार नेपाल र पाल्पाका सभासद सोमप्रसाद पाण्डे सम्धी हुन् । पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री स्व. भरतमोहन अधिकारी पार्टीका प्रथम अध्यक्ष तथा पूर्वप्रधानमन्त्री स्व. मनमोहन अधिकारीका भाई हुन् । उनी प्रचण्डनिकट मानिएका एमाओवादीको उद्योग विभागका प्रमुख कृष्णप्रसाद आचार्य सम्धी, ब्यापारी आचार्यका छोरा सुदीपले भरतमोहनकी छोरी लिनासँग बिबाह गरेका हुन् । पूर्व स्थानीयविकास मन्त्री राजेन्द्रप्रसाद पाण्डे र पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे दाजुभाई हुन् । सुरेन्द्र पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालका साडुभाई नाता पर्दछन् । झलनाथका बैने–ज्वाईँ नाता पर्ने हुन् पूर्वमन्त्री तथा पार्टीका पूर्वसचेतक भीम आचार्य । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ् र नेपाली सेनाका सेवानिवृत्त भई माओवादीमा पसेका पूर्वसांसद जर्नेल कुमार फुदोङ् ज्वाईँ–जेठान् हुन् । हालै मन्त्रीबाट हटाइएका रघुवीर महासेठका जेठान् हुन् उद्योगी–ब्यापारी तथा समाजसेवी उपेन्द्र महतो । मोदनाथ प्रश्रित र शान्ता मानवी मितदाजु र मितबैनी । शान्ताका दाजु र प्रश्रितले मित लगाएका हुन् । मकवानपुरबाट निर्वाचित सांसद विरोध खतिवडा पूर्व एमाले नेता तथा शिक्षक नेता बद्रीप्रसाद खतिवडाका छोरा हुन् र विरोधकी छोरी श्रृङ्खला खतिवडा सन् २०१८ की मिस नेपाल सुन्दरी हुन् ।

पारपाचुके प्राध्यापक, साहित्यकार तथा लेखक दिल साहनी र नेकपा नेतृ तथा पूर्वमन्त्री राधा ज्ञवालीको बिहे भएर ०४२ सालमा सम्बन्ध टुटेको हो । कुनै जमानाका ‘राल्फाली’ कवि ‘मञ्जुल’ (मेघराज नेपाल) र पूर्वएमाले नेतृ तथा साहित्यकार कुन्ता शर्माबीच ०३० सालमा भएको बिहे ४० को दशकपछि विच्छेद भयो । मञ्जुलका भाई हुन् पूर्वएमाले नेता तथा लेखक प्रदीप नेपाल ।

नेकपा (पूर्वमाओवादी)
संघीय समाजवादी पार्टीका अध्यक्ष डा.बाबुरामकी पत्नी तथा नेतृ हिसिला यमी पुराना राजनीतिज्ञ धर्मरत्न ‘यमी’ (तुलाधर) की छोरी हुन् । माओवादीबाट संविधानसभा सदस्य भएका पूर्वअञ्चलाधीश सूर्यबहादुर सेन ओली (लेखकीय नाम ‘सुब सेन’) दाजु, गुल्मी काँग्रेसका पूर्वसभापति त्रैलोक्यप्रताप सेन ओली भाई । माओवादीविज्ञ (राजनीति विश्लेषक) मुमाराम खनाल र हालै कृषिमन्त्रीबाट हटाइएका चक्रपाणी खनाल ‘बलदेव’का भाई हुन् । केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा नेता अग्निप्रसाद सापकोटाका भाई । नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरूङ पोलिटब्युरो सदस्य नारायणप्रसाद शर्माका बहिनी–ज्वाईँ । वनमन्त्री शक्तिबहादुर बस्नेत सूर्य सुवेदी ‘पथिक’ का जेठान । गोर्खा जेल तोडेर भाग्ने केन्द्रीय नेतृ उमा भुजेलका पति प्रज्वल श्रेष्ठ रुपन्देही जिल्लाका नेता । पूर्वमन्त्री कल्पना धमलाका पति लमजुङका पूर्वमाओवादीमा जिल्ला इन्चार्जभएका देवेन्द्र पराजुली हुन् । बाबु इश्वरी दाहालका छोरा महेश्वर दाहाल हुन् । नेकपा नेतृ पम्फा भूसाल सानीआमाकी छोरी, सेवानिवृत्त राष्ट्रसंघका सहायक महासचिव कुलचन्द्र गौतम ठूलीआमाका छोरा हुन् ।

संविधानसभाका सदस्य भइसकेका पति–पत्नी केन्द्रीय नेताहरू—
पूर्व प्र.म. डा. बाबुराम भट्टराई- हिसिला यमी
मन्त्री वर्षमान पुन -पूर्वसभामुख ओनसरी घर्ती
प्रमुख सचेतक देव गुरुङ- यशोदा सुवेदी
हितमान शाक्य -अमृता थापा
राजकुमार श्रेष्ठ -देवी खड्का
सूर्यमान दोङ (तामाङ) -कुमारी मोक्तान
टेकेन्द्र भट्ट -रेणु चन्द
लीलामणि पोखरेल -शशी श्रेष्ठ
कुलप्रसाद के.सी. -तारा घर्ती
आपूर्ती मन्त्री गणेशमान पुन -कमला रोका (छापामारबाट पहिलो मन्त्री)
कृष्णध्वज खड्का -पूर्वमन्त्री रेखा शर्मा
पूर्वमन्त्री विश्वनाथ साह -सीता पोखरेल
देवेन्द्र पौडेल- बलावती शर्मा
वनमन्त्री शक्तिबहादुर बस्नेत -पूर्वमन्त्री सत्या पहाडी
विप्लब माओवादीका शिक्षक
नेता गुणराज लोहनी- सरला रेग्मी

सम्धी
पुष्पकमल दाहालकी छोरी रेणु टीबी पाठकका छोरा अर्जुन
मोहन वैद्य ‘किरण’ की छोरी चेतना अग्निप्रसाद सापकोटाका छोरा दीपक
हरिबोल गजुरेलकी छोरी ज्योती झक्कुप्रसाद सुवेदीका छोरा
हितबहादुर तामाङ् कमानसिं लामा

पारपाचुके
प्रचण्डपुत्र स्व. प्रकाशले स्व. नेता पोस्टबहादुर बोगटी ‘दिवाकर’ की छोरी प्रभालाई विवाह गरेर पारपाचुके गरेका थिए । पोलिटब्युरो सदस्य विश्वभक्त दुलाल ‘आहुति’ ले पूर्वसभासद अञ्जना विसंखेलाई विवाह गरेर पारपाचुके गरेका हुन् । रामबहादुर थापा ‘बादल’ र पम्फा भूसालको  सम्बन्धले औपचारिक बैबाहिक सम्बन्ध पाएन, तर पार्टीले कारवाही गरायो ।

अविवाहित
स्व.नरबहादुर कर्माचार्य, नारायणकाजी श्रेष्ठ, पम्फा भूसाल, गिरिराजमणि पोखरेल, पोब्युस स्वनाम साथी ।

राप्रपा, राप्रपा–नेपाल, राजपा आदि
पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा र बैँकर हिमालय शम्शेर जबरा सम्धी हुन्, थापाका छोरा (२०७० को संविधानसभा निर्वाचनमा धनकुटाबाट निर्वाचित सभासद) सुनिलले हिमालयकी छोरी, फाइन आर्टसँग सम्बन्धित संगीतालाई बिबाह गरेका थिए । पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाकी नातिनी विवादास्पद ब्यापारी सीताराम प्रसाईँका छोराले बिहे गरेको हुनाले प्रसाईँलाई माओवादीको वाईसीएलले समात्दा गिरिजाप्रसादले वाईसीएललाई ‘योङ् क्रिमिनल लिग’ भनेका हुन् । राप्रपा महामन्त्री दीपक बोहोराकी गीतकार पत्नी उन्नती बोहरा ‘शीला’, पी.एचडी. गर्ने पहिलो लाहुरे बाग्लुङ्का हर्षबहादुर बुढा मगरकी छोरी हुन् । स्व. विद्यादेवी देबकोटा पुराना राजावादी नेता तथा साहित्यकार स्व. राजेश्वर देवकोटाकी काकी हुन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाकी छोरी प्रतिष्ठालाई पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझीका छोरा रवीले बिहे गरेका हुनाले रायमाझी र थापा सम्धी हुन् ।

मधेसवादी पार्टीहरू
पूर्वमन्त्री तथा पूर्व सचिव उमाकान्त झा राजपा नेपालको अध्यक्ष मण्डलका महन्थ ठाकुरका सम्धी हुन् । पूर्वराज्यमन्त्री काशीदेवी झा २०१८ सालमा नेपाली काँग्रेसको झन्डामुनी शहीद भएका दुर्गानन्द झाकी श्रीमती हुन् । मधेसवादी राजनीतिका नेता अभिषेकप्रताप साहका पिता राप्रपाका नेता अजयप्रताप साह हुन् । अजयप्रताप २०१६ सालको काँग्रेसको एकमना सरकारमा अर्थ उपमन्त्री भएका रामपतिप्रताप साहका छोरा हुन् । सद्भावना (आनन्दीदेवी) की अध्यक्षा सरिता गिरि काँग्रेस नेता प्रदीप गिरिका भाई ई. लक्ष्मण गिरिबाट छुट्टिएकी पत्नी हुन् ।

अन्य पार्टी
नेकपा (संयुक्त) का महामन्त्री तथा पूर्ववातावरण मन्त्री सुनिल मानन्धर सोही पार्टीका बरिष्ठ नेता विष्णुबहादुर मानन्धरका छोरा हुन् । एमालेबाट माले, राजावादी हुँदै एमाओवादी र फेरि एमाले भएका राधाकृष्ण मैनाली र नेकपा मालेका नेता सीपी मैनाली दाजुभाई हुन् ।

सेना तथा प्रहरी
पूर्व प्रधानसेनापति रूक्माङ्गद कटवाल र अमेरिकामा बस्ने र फिजीमा पनि काम गर्ने सुखदेव साह साढुदाई साढुभाई हुन् । कटवाललाई राजा वीरेन्द्र र रानी ऐश्वर्यले ओखलढुङ्गा–ठूलाछापबाट ल्याई धर्मपुत्रका रुपमा पाले,पढाएका थिए । माओवादीले सपत्नी हत्या गरेका सशस्त्र प्रहरीका संस्थापक आईजीपी कृष्णमोहन श्रेष्ठ जनपद प्रहरीका पूर्व आईजीपी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष र राप्रपाका नेता धु्रबबहादुर प्रधानका जेठान हुन् । पूर्वआईजीपी प्रदीप शम्शेर, राणा प्रधानमन्त्री देव शम्शेरका पनाति हुन् । पूर्वप्रधानसेनापति गौरब शम्शेरका जेठाबा हुन् काँग्रेस नेता भरत शम्शेर, माइलाबा (साहित्यकार) जगदीश शम्शेर र कान्छा बा ललितपुर काँग्रेसका सभापति सागर शम्शेर, उनी उच्च सैनिक अधिकारी आदित्य शम्शेरका छोरा हुन् । सेनाका बलाधिकृतसम्म भएर अवकाशप्राप्त नेपालभूषण चन्द पुरानो राष्ट्रिय पञ्चायतका अध्यक्ष ललित चन्दका छोरा हुन्, निज ललित शहीद दशरथ चन्दका भतिजा हुन् । ललित चन्दलाई काँग्रेस नेता गणेशमान सिंहले पढाए, २०१५ सालमा काँग्रेसबाट उम्मेद्वारीको टिकट दिए र आफ्नो मन्त्रालयमा उपमन्त्रीसम्म बनाए । कालान्तरमा ललितचन्द पञ्चायतमा प्रवेश गरेर राष्ट्रिय पञ्चायतको अध्यक्षसम्म भए । पत्नीका हत्यारा सशस्त्र प्रहरीको डीआईजी रञ्जन कोइरालाकी प्रेमिका भनिएकी तारा रेग्मी राससका अवकाश प्राप्त पत्रकार रमेश ‘तूफान’ की परित्यक्त पत्नी हुन् । तारा स्व. सिने निर्माता शिब रेग्मीकी बहिनी पनि हुन् ।

न्यायाधीश, कुटनीतिज्ञ, प्रशासक, अधिकारवादी, विज्ञ आदि
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की विमान अपहरणमा पनि संलग्न काँग्रेसका चर्चित नेता दुर्गा सुवेदीकी पत्नी हुन् । काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति डा. सुरेशराज शर्मा र साना किसान विकास बैँकका प्रमुख कार्यकारी अधिकृत भई सेवानिवृत्त जलनकुमार शर्मा दाजुभाई हुन् । उनीहरू दिवंगत सर्बोच्च अदालतका पूर्व न्यायाधीश वासुदेव शर्माका पुत्र हुन् र वासुदेव वीपीका साडुदाई हुन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल र राजपाका नेता बृखेशचन्द्र लाल दाजुभाई हुन् । ‘होटल द्वारिकाज’ की मालिक अम्बिका श्रेष्ठका बडाबा हुन् नेपालका प्रथम प्रधानन्यायाधीश (बिसं २००९) हरिप्रसाद प्रधान । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनूपराज शर्मा र लेखक जैनेन्द्र जीवन बडाबा–काकाका छोराद्वय हुन् । सर्बोच्च अदालतका पूर्वन्यायाधीश बैद्यनाथ उपाध्याय र राष्ट्रिय मानव अधिकार आयोगका पूर्वअध्यक्ष केदारनाथ उपाध्याय दाजुभाई, यिनीहरू पूर्वप्रधानन्यायाधीश स्व. विश्वनाथ उपाध्यायका भाईहरू हुन् । मानव अधिकारवादी नेता स्व. प्रकाश काफ्ले र प्रख्यात मृगौला विशेषज्ञ डा ऋषिकुमार काफ्ले दाजुभाई हुन् । नेपाल मेडिकल काउन्सिलका पूर्वअध्यक्ष डा. दामोदर गजुरेल नेकपा (पूर्वमाओवादी) नेता हरिबोल गजुरेलका भाई हुन् ।

पत्रकार, कलाकार, साहित्यकार इत्यादि
साहित्यकार तारानाथ शर्मा, चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा र संचारकर्मी दुर्गानाथ शर्मा दाजुभाई हुन् । पहिले काठमाण्डु पोस्ट, कारोबार दैनिकका सम्पादक हुँदै हाल एक अनलाइन पत्रिका चलाउने प्रतीक प्रधान साहित्यकार (कथाकार) परशु प्रधानका छोरा हुन् । यिनी सुशील कोइराला प्रधानमन्त्री हुँदा प्र.म.का प्रेस सल्लाहकार थिए । पत्रकार युबराज घिमिरे अर्जुननरसिंहका भाई, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष तथा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह के.सी. का साडुभाई हुन्, डा. केदार र युवराजले जुम्ल्याहा दिदी–बहिनी क्रमशः रेखा र रेणुलाई बिवाह गरेका हुन् । न्युरोचिकित्सक डा. वसन्त पन्त र हास्यकलाकार सन्तोष पन्त भाई र दाजु हुन् । मानसिक स्वास्थ्य विशेषज्ञ विश्वबन्धु शर्मा र पोषण तथा खाद्यविद् डा. अरुणा उप्रेती पति–पत्नी हुन् । साहित्यकार धुस्वाँ सायमीका छोरा हुन् मुटुरोग विशेषज्ञ अरूण सायमी । बीबीसी नेपाली सेवाबाट निवृत्त भएका सुमन खरेल गीतकार किरण खरेलका छोरा, गायक–गायिका कल्याण रिमाल तथा बिजु रिमालका ज्वाईँ सुमनले गायिका सीतुलाई बिहे गरेका हुन् । वीर अस्पतालका डाक्टर बुलन्द थापा स्व. जनकवि केशरी एवं गायक धर्मराज थापाका छोरा हुन् ।

एबीसी टेलिभिजन च्यानलका प्रबन्ध निर्देशक शुभशंकर कँडेल पूर्वशिक्षामन्त्री तथा एमाओवादी नेता दीनानाथ शर्माका छोरी–ज्वाईँ हुन् । लेखक ब्रजेश खनाल पुराना लेखक तथा ब्यंग्यकार श्रीधर खनालका छोरा हुन् । नायक राजेश हमाल फिल्म निर्देशक स्व. दीपक रायमाझीका भान्जा तथा डा. केशरजङ्ग रायमाझीका छोरीपट्टीका नाती हुन् । भाषासेवी स्व. कमलमणि दीक्षित (क.दी.) जलस्रोतविद पूर्वमन्त्री दीपक ज्ञवालीका मामा हुन् र दीपकका पिता पूर्वमहान्याधिवक्ता शम्भुप्रसाद ज्ञवालीले क.दी. की बहिनी बिहे गरेका हुन् । क.दी. र शिक्षाविद तथा समाजसेवी अंगुरबाबा जोशी सम्धी–सम्धीनी हुन् । गायक दीपक खरेल गीतकार, भजनकार तथा अन्य साहित्यका कृति लेख्नुका साथै निजकै नाममा पुरस्कार स्थापना गरिएकी भारती खरेल र चर्चित पूर्व प्रशासक स्व. चन्द्रिकानन्द खरेलका छोरा हुन् । सिने अभिनेता शिव श्रेष्ठ अर्का सिने कलाकार सुनिल थापा (राते काईँला) सम्धी हुन् । शिबका छोराले सुनिलीकी छोरी बिहे गरेका हुन् । हास्य कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) का दाई हुन् पत्रकार ऋषि कट्टेल ।

–चन्द्रमणि गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?