काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह सक्षम र सबल भए मात्रै जनताले सङ्घीयताको वास्तविक अनुभूति गर्न पाउने बताएका छन् ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित एमालेका स्थानीय तहका जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तहको सबलीकरणले विकास निर्माणका कामलाई गति दिने बताएका हुन् ।
उनले स्थानीय तहलाई थप स्वायत्त बनाउनुपर्नेमा जोड दिँदै कार्यकारी, विधायिकी र न्यायिक अधिकार प्रदान गर्नुपर्ने बताए । स्थानीय तहलाई बलियो बनाउँदा देशलाई कुनै हानि नहुने उनको भनाइ थियो ।
कार्यक्रममा एमाले महासचिव शङ्कर पोखरेलले जनप्रतिनिधिलाई जनताको आलोचना गर्नेभन्दा पनि विश्वास जित्ने गरी काम गर्न आग्रह गरे । उनले निर्वाचनका बेला जनतासँग देखाएको विनम्रता निर्वाचित भएपछि पनि कायम राख्नुपर्ने बताए ।
जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गरे वा नगरेको मूल्याङ्कन आगामी निर्वाचनबाट हुने उल्लेख गर्दै महासचिव पोखरेलले एमालेका जनप्रतिनिधिलाई सुशासनको नेतृत्व गर्न आग्रह गरे ।
भेलामा देशभरबाट एमालेका तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको सहभागिता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया