गगन भन्छन्– ‘निर्वाचन निष्पक्ष गराउने मुख्य जिम्मेवारी सरकारको हो’

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचन निष्पक्ष रूपमा सम्पन्न गराउने प्रमुख जिम्मेवारी सरकारको भएको बताएका छन् ।

शुक्रबार निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचनको वातावरण बनाउन सरकारले नै अग्रसरता लिनुपर्ने बताएका हुन् ।

थापाले निर्वाचन आयोगले मात्रै निर्वाचनको सम्पूर्ण जिम्मेवारी लिन नसक्ने भन्दै सरकारलाई समयमै आवश्यक कदम चाल्न आग्रह गरे । निर्वाचनका विषयमा राजनीतिक दल र प्रतिपक्षलाई बेवास्ता गरेर सरकार अघि बढ्न नमिल्ने उनको भनाइ थियो ।

उनले २०८२ साल भदौ २३ र २४ गतेका घटनापछि निर्वाचन सम्पन्न गर्न तत्कालीन सरकारले राजनीतिक दलहरूसँग गरेको संवाद र सहकार्य महत्त्वपूर्ण रहेको स्मरण गराए । निर्वाचन सफल बनाउन सरकार र राजनीतिक दलबीच समन्वय आवश्यक हुने उनले बताए ।

थापाले निर्वाचन कहिले र कसरी गर्ने भन्ने विषयमा संविधान र कानुनले स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै सोही व्यवस्थाअनुसार निर्वाचनको मिति तय गर्न सकिने बताए ।

स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैपटक गर्ने विषयमा निर्वाचन आयोगमा छलफल भएको जानकारी दिँदै उनले विशेष परिस्थितिमा दुवै निर्वाचन एकै समयमा गर्नेबारे राजनीतिक दलहरूबीच थप छलफल आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?