नुवाकोटका बाढी प्रभावित परिवारलाई टाटा समूह र सिप्रदीद्वारा २ हजार स्टिल दराज वितरण

लोकपथ
0
Shares

नुवाकोट । टाटा समूह र सिप्रदियन सहायता संस्थाले नुवाकोटका बाढी प्रभावित परिवारलाई २ हजार थान स्टिल दराज वितरण गरेका छन् ।

हिमताल विस्फोटबाट आएको बाढीका कारण घर तथा घरभित्रका सम्पूर्ण सामान गुमाएका परिवारलाई सहयोग गर्ने उद्देश्यले दराज वितरण गरिएको हो। ‘एक टाटा नेपाल विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत यी दराज वितरण गरिएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेती तथा नेपाल सरकारको मार्गदर्शनमा कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

प्रभावित परिवारलाई घरायसी सामग्री सुरक्षित राख्न सहयोग पुर्‍याउने र उनीहरूको दैनिक जीवन सहज बनाउने उद्देश्यले दराज वितरण गरिएको आयोजकले जनाएको छ । यो कार्यक्रम बाढी प्रभावित समुदायको दीर्घकालीन पुनर्स्थापनाका लागि सञ्चालन गरिएको पहलको एक हिस्सा हो ।

दराज हस्तान्तरण कार्यक्रममा टाटा सन्सका समूह प्रमुख दिगोपना अधिकृत चाको थोमस, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहाल, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीलगायतको उपस्थिति थियो ।

त्यस्तै, विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी तथा स्थानीय सरोकारवालाहरू पनि कार्यक्रममा सहभागी थिए ।

कार्यक्रममा टाटा सन्सका समूह प्रमुख दिगोपना अधिकृत चाको थोमसले विपद् प्रभावितलाई तत्काल राहत दिनुका साथै उनीहरूको जीवनलाई सामान्य अवस्थामा फर्काउन सहयोग गर्नु पनि महत्त्वपूर्ण रहेको बताए । उनले प्रभावित परिवारको पुनर्स्थापनामा टाटा समूह र सिप्रदी समूह निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरे ।

त्यसैगरी, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहालले वास्तविक आवश्यकता भएका समुदायलाई सहयोग पुर्‍याउनु संस्थाको उद्देश्य रहेको बताए । उनले विपद् प्रभावित समुदायको पुनर्स्थापना र विपद् सामना गर्न सक्ने समाज निर्माणमा संस्थाले सहयोग जारी राख्ने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?