चेङ्दु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले चीनको सिचुवान प्रान्तसँग विकासका पाँच क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका सिचुवान प्रान्तीय सचिव तथा प्रान्तीय जनकांग्रेस स्थायी समिति अध्यक्ष वाङ स्याओहुईसँग मंगलबार चेङ्दुमा भएको भेटवार्तामा रास्वपा प्रतिनिधिमण्डलले सहकार्यका प्रस्ताव अघि सारेको हो ।
भेटमा नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई विकास र आर्थिक समृद्धिसँग जोड्दै व्यावहारिक सहकार्य बढाउने विषयमा छलफल भएको थियो ।
रास्वपाले सीमा पार यातायात पूर्वाधार, पर्वतीय अध्ययन तथा विपद् व्यवस्थापन, स्वच्छ ऊर्जा तथा हरित उद्योग, हवाई सम्पर्क तथा व्यापार प्रवर्द्धन र युवा तथा डिजिटल प्रविधिलाई सहकार्यका पाँच प्राथमिक क्षेत्रका रूपमा प्रस्ताव गरेको छ ।
प्रतिनिधिमण्डलले नेपाल र चीनबीच सुरक्षित तथा भरपर्दो सडक यातायातको आवश्यकता औँल्याउँदै सडक, सुक्खा बन्दरगाह र आधुनिक भन्सार प्रणालीको विकासमा सहकार्य गर्न आग्रह गरेको छ । पछिल्ला प्राकृतिक विपद्ले सीमापार यातायातलाई वर्षैभरि सञ्चालन गर्न सकिने पूर्वाधारको आवश्यकता देखाएको नेपाली पक्षको भनाइ थियो ।
त्यस्तै, नेपाल र चीनको सिचुवान प्रान्तमा पर्वतीय वातावरण र प्राकृतिक विपद्को जोखिम समान रहेकाले विश्वविद्यालय, अनुसन्धान संस्था र विज्ञबीच सहकार्य गर्न सकिने प्रस्ताव गरिएको छ । मौसम पूर्वानुमान, बाढीको पूर्वसूचना र विपद् व्यवस्थापनसम्बन्धी सूचना आदानप्रदानमा जोड दिइएको छ ।
ऊर्जा क्षेत्रमा नेपालको जलविद्युत् सम्भावना र सिचुवानको प्रविधि तथा औद्योगिक अनुभवलाई जोड्नुपर्ने प्रस्ताव पनि नेपाली पक्षले राखेको छ । जलविद्युत्सँगै हरित हाइड्रोजन, रासायनिक मल, विद्युतीय सवारीसाधन र ब्याट्री उत्पादनमा लगानी तथा प्रविधि हस्तान्तरण गर्न सकिने विषय छलफलमा उठेको थियो ।
पर्यटन र व्यापार विस्तारका लागि चेङ्दुबाट काठमाडौं, पोखरा र भैरहवामा थप प्रत्यक्ष उडान सञ्चालनको सम्भावना खोज्न पनि रास्वपाले आग्रह गरेको छ । साथै, नेपाली जडीबुटी, चिया, फलफूल र हस्तकलाका सामग्री चीन निर्यात गर्न आवश्यक बजार पहुँच, प्रशोधन र गुणस्तर सुधारमा सहकार्य गर्न प्रस्ताव गरिएको छ ।
युवा तथा डिजिटल प्रविधिको क्षेत्रमा कृत्रिम बुद्धिमत्ता, सफ्टवेयर इन्जिनियरिङ, प्राविधिक तालिम र हरित डेटा सेन्टर निर्माणमा सहकार्य गर्न सकिने नेपाली पक्षको भनाइ थियो ।
भेटमा सिचुवानका सचिव वाङले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाल र चीन असल छिमेकी तथा साझेदार रहेको बताए । उनले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउन र राजनीतिक नेतृत्वबीच भएका समझदारी कार्यान्वयन गर्न सिचुवानले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
गत भदौमा रसुवाको सीमावर्ती क्षेत्रमा आएको बाढीबाट नेपाल र चीन दुवैतर्फ जनधनको क्षति भएको स्मरण गर्दै वाङले विपद्का बेला दुवै देशले एकअर्कालाई गरेको सहयोगलाई परम्परागत मित्रताको उदाहरणका रूपमा उल्लेख गरे ।
जवाफमा महामन्त्री आचार्यले भोटेकोशी क्षेत्रमा आएको बाढीमा ज्यान गुमाएका चिनियाँ नागरिकका परिवारप्रति समवेदना व्यक्त गरे । उनले विपद्पछि चीनले नेपालका प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत सहयोग उपलब्ध गराएको भन्दै धन्यवाद दिए ।
आचार्यले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको पनि स्पष्ट पारे । नेपालको स्वतन्त्र तथा सन्तुलित परराष्ट्र नीति, पञ्चशीलका सिद्धान्त र दुवै देशको सार्वभौमसत्ताको सम्मानमा आधारित सम्बन्धलाई निरन्तरता दिने उनको भनाइ थियो ।
उनले फरक राजनीतिक व्यवस्था र विचारधारा भए पनि दुवै देशका राजनीतिक दलको साझा उद्देश्य नागरिकको हित र समृद्धि रहेको बताए । चिनियाँ कम्युनिस्ट पार्टीको संगठनात्मक तथा शासन सञ्चालनको अनुभव अध्ययन गर्न रास्वपा इच्छुक रहेको पनि उनले उल्लेख गरे ।
रास्वपा प्रतिनिधिमण्डलले नेपालमा राजनीतिक स्थिरता कायम गर्दै विकास निर्माणका आयोजना तीव्र गतिमा अघि बढाउने उद्देश्य रहेको बताएको छ । सिचुवानसँगको सहकार्यले नेपालमा पूर्वाधार, ऊर्जा, पर्यटन र प्रविधिको विकासमा सहयोग पुग्ने अपेक्षा पार्टीले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया