यति एयरलाइन्सको सीईओमा युवराज विष्ट नियुक्त

लोकपथ
0
Shares

काठमाडौं । यति एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युवराज विष्ट नियुक्त भएका छन् । कम्पनीले मंगलबारदेखि लागू हुने गरी उनलाई सीईओको जिम्मेवारी दिएको हो ।

सन् २००९ मा म्यानेजमेन्ट ट्रेनीका रूपमा यति एयरलाइन्समा प्रवेश गरेका विष्ट १८ वर्षभन्दा बढी समयदेखि कम्पनीमा कार्यरत छन् । उनको नियुक्तिसँगै निवर्तमान सीईओ सुवास सापकोटालाई कम्पनीले बिदाइ गरेको छ ।

४३ वर्षीय विष्टसँग हवाई उड्डयन क्षेत्रको व्यवस्थापन, व्यवसाय विस्तार र संस्थागत सञ्चालनको अनुभव छ । व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गरेका उनले यसअघि कम्पनीको प्रमुख व्यवसाय अधिकृत (सीबीओ) र एकाउन्टेबल म्यानेजरका रूपमा काम गरिसकेका छन् ।

सीबीओका रूपमा उनले कम्पनीको व्यावसायिक रणनीति, व्यवस्थापन र संगठनात्मक विकासमा काम गरेका थिए । अब उनले एयरलाइन्सको समग्र व्यवसाय, सञ्चालन र संस्थागत विकासको नेतृत्व गर्नेछन् ।

सन् १९९८ मा स्थापना भएको यति एयरलाइन्सले हाल सातवटा एटीआर–७२ विमानमार्फत आन्तरिक उडान गर्दै आएको छ । काठमाडौंलाई मुख्य आधार बनाएर कम्पनीले पोखरा, विराटनगर, भद्रपुर, जनकपुर, भैरहवा र नेपालगञ्जलगायतका सहरमा नियमित उडान सेवा दिँदै आएको छ ।

कम्पनीले सुरुमा क्यानडामा निर्मित डीएचसी ट्विनअटर विमानबाट व्यावसायिक उडान सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?