काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट निष्पक्ष न्याय पाउने विश्वास व्यक्त गरेका छन् ।
शनिबार ललितपुरमा आफूपक्षीय पार्टी जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले सर्वोच्च अदालत कुनै पनि आर्थिक प्रलोभनमा पर्ने संस्था नभएको बताए ।
उनले अदालतले निष्पक्ष र स्वतन्त्र रूपमा न्याय दिने विश्वास व्यक्त गर्दै आफूहरूमाथि अन्याय नहुने जिकिर गरे । पञ्चायतकालदेखि नै नेपालको न्यायपालिकाको भूमिका आफूले देख्दै आएको उनको भनाइ थियो ।
देउवाले तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनका बेला आफूलाई शाही आयोग गठन गरेर जेलमा राखिएको घटना पनि स्मरण गरे । त्यसबेला पनि आफूले अदालतबाट न्याय पाउने विश्वास गरेको र सर्वोच्च अदालतले साहसपूर्वक आफूलाई रिहा गरेको उनले बताए ।
राजाको प्रत्यक्ष शासनकालमा समेत न्याय दिन सकेको सर्वोच्च अदालतले अहिले पनि निष्पक्ष निर्णय गर्नेमा आफू विश्वस्त रहेको देउवाको भनाइ थियो ।
उनले पार्टीको आधिकारिकता विवादमा आफूहरूको जित हुने विश्वास व्यक्त गर्दै नेता तथा कार्यकर्तालाई एकजुट भएर अघि बढ्न आग्रह गरे । जनता र पार्टी आफ्नो साथमा रहेको उल्लेख गर्दै उनले देश र जनताको सेवामा निरन्तर लाग्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया