चाडपर्वमा विद्युत् कटौती हुन नदिन प्राधिकरणले थाल्यो तयारी

लोकपथ
35
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारअन्तर्गत लक्ष्मीपूजाका दिन विद्युतको अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ ।

प्राधिकरणले लक्ष्मीपूजाका दिन विद्युत्को माग धान्न पर्याप्त विद्युत् उपलब्ध हुने जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार उक्त दिन विद्युत्को माग आन्तरिक उत्पादनबाटै सहज रूपमा पूरा हुनेछ ।

लक्ष्मीपूजाको समयमा विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ । आन्तरिक मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्तिमा समस्या नहुने श्रेष्ठले बताएका छन् ।

यसैबीच, तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरणले विशेष तयारी गरेको छ ।

कार्यकारी निर्देशक श्रेष्ठले पर्व अवधिभर विद्युत् आपूर्तिमा अवरोध हुन नदिन सम्बन्धित कार्यालय प्रमुखहरूलाई आवश्यक तयारी गर्न निर्देशन दिएका छन् । विद्युत् आपूर्तिमा समस्या आए तत्काल मर्मतसम्भार गरी सेवा सञ्चालन गर्न प्राविधिक टोलीलाई तयारी अवस्थामा राख्नसमेत उनले निर्देशन दिएका छन् ।

त्यसैगरी, प्रसारण लाइन तथा वितरण प्रणालीको निरीक्षण र मर्मतसम्भारका बाँकी काम तत्काल सम्पन्न गर्न निर्देशन दिइएको छ । सम्भावित अवरोध न्यूनीकरण गरी विद्युत् सेवा नियमित राख्न प्राधिकरणले मातहतका कार्यालयलाई सक्रिय रहन भनेको छ ।

विद्युत् आपूर्तिसम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न नो लाइट सेवामा प्राप्त हुने फोन नियमित उठाउन र गुनासो व्यवस्थापन प्रभावकारी बनाउन पनि कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?