वडाध्यक्षकै औँठाछापले ३१ लाख बढी वृद्धाभत्ता हिनामिना, प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध मुद्दा दायर

लोकपथ
91
Shares

काठमाडौं । सामाजिक सुरक्षा भत्ता (वृद्धाभत्ता) मा बदमासी गर्ने प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

ओखलढुंगाको लिखु गाँउपालिका वडा नं ९ स्थित पोकलीमा ०७५–०७६ र आव २०७६–०७७ मा सामाजिक सुरक्षा भत्ता वितरणमा दुरुपयोग भएको तथ्यपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार मुद्दा दायर हुनेहरुमा लिखु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु ओमबहादुर दर्जी, अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी एमआईएस अपरेटर खिला बिक र वडा नं ९ का अध्यक्ष शुकविर तामाङ रहेका छन् ।

वडाध्यक्ष तामाङले आफ्नो दाँया हातको बुढी औँलाको औँठाछाप लगाई आव २०७५–०७६ को पहिलो, दोस्रो र तेस्रो चौमासिक तथा आव २०७६–०७७ को पहिलो, दोस्रो र तेस्रो चौमासिक गरी औँठाछाप थान–३६० प्रयोग गरी २९ लाख १५ हजार २ सय रुपैयाँ भुक्तानी लिएको अख्तियारको जिकिर रहेको छ ।

यसैगरी सामाजिक सुरक्षा भत्ता वितरण भरपाईमा रहेका लाभग्राहीहरुको औँठाछापसँग मेल खाएको बाहेक पनि आव ०७५–०७६ र ०७६–०७७ मा सामाजिक सुरक्षा भत्ता वितरण नामावलीमा दोहोरो नाम राखी रकम वितरण गरेको देखाएको, मृत्यु भइसकेका लाभग्राहीहरुको गलत लगत कट्टा गर्नुपर्नेमा सो नगरी नगराई सामाजिक सुरक्षा भत्ता वितरण गरेको र आव ०७५–०७६ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा बसाईँसराईँ गरी अन्यत्र गइसकेका लाभग्राहीको लगत कट्टा गर्नुपर्नेमा सो नगरी नगराई सामाजिक सुरक्षा भत्ता वितरण गरेको देखाई २ लाख ५२ हजार समेत गरी गलत विवरणसहितको अभिलेखको आधारमा नै पेश्की पछ्र्र्यौट गरे गराइ ३१ लाख ६७ हजार २ सय हिनामिना गरेको पुष्टि भएकोले उक्त कार्यमा संलग्नहरुमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले लिखु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीलाई ९ लाख ५३ हजार ६ सय बिगो कायम गरिएको छ । उनीमाथि सरकारी अभिलेखमा रहेको विवरण कागजात सच्याउने, सच्याउन लगाउने थपघट गर्ने तथा गराउने समेतको कार्य गरेको आरोप रहेको छ ।

यसैगरी लिखु गाउँपालिकाकै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्तामाथि ११ लाख ६७ हजार २ सय बिगो कायम गरिएको छ । यता लिखु गाउँपालिकाको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरीमाथि ७ लाख ९४ हजार ४ सय बिगो तथा लिखु गाउँपालिका वडा नं ९ का तत्कालीन वडाध्यक्ष शुकविर तामाङमाथि ३१ लाख ६७ हजार २ सय बिगो कायम गरिएको छ । यसैगरी लिखु गाउँपालिकाकै तत्कालीन एमआईएस अपरेटर खिला विकमाथि ३१ लाख ६७ हजार २ सय बिगो कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?