काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा हुन सक्ने साइबर आक्रमण रोक्न नयाँ सूचना प्रविधि नीति लागू गरेको छ ।
बोर्डले बुधबारदेखि ‘नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०८३’ लागू गर्दै सेयर बजारसँग सम्बन्धित सबै संस्थालाई साइबर सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएको हो ।
नयाँ नीतिअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से), धितोपत्र बोर्ड र अन्य बजार पूर्वाधार संस्थाले चौबीसै घण्टा साइबर जोखिमको निगरानी गर्नुपर्नेछ ।
बोर्डले सेयर बजारसँग सम्बन्धित संस्थाहरूलाई तीन तहमा विभाजन गरेको छ । पहिलो तहमा धितोपत्र बोर्ड, बजार सञ्चालक र केन्द्रीय निक्षेप सेवा छन् । दोस्रो तहमा ब्रोकर कम्पनी, धितोपत्र व्यापारी र मर्चेन्ट बैंकर छन् । त्यस्तै, तेस्रो तहमा क्रेडिट रेटिङ एजेन्सी र सेयर रजिस्ट्रार संस्था रहेका छन् ।
तीनै तहका संस्थाले साइबर जोखिम कम गर्न आवश्यक सुरक्षा प्रणाली र सूचना प्रविधिसम्बन्धी पूर्वाधार तयार गर्नुपर्नेछ ।
नीतिअनुसार बोर्ड र नेप्सेले चौबीसै घण्टा साइबर जोखिमको निगरानी गर्नेछन् । साथै, बजारका सेवा तथा प्रक्रियालाई प्रविधिमैत्री बनाउने, एकीकृत बजार निगरानी प्रणाली विकास गर्ने र सूचना प्रविधिसम्बन्धी न्यूनतम मापदण्ड लागू गर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, सफ्टवेयर खरिद तथा प्रयोग गर्दा अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्नुपर्नेछ । संस्थाहरूले प्रत्येक वर्ष आफ्नो प्रणालीमा रहेका कमजोरी पहिचान गर्न सुरक्षा परीक्षण र सिस्टम अडिटसमेत गराउनुपर्नेछ ।
बोर्डले ई–सेबोन प्रणाली विकास गर्ने, साझा डेटा सेन्टर स्थापना गर्ने तथा क्लाउड कम्प्युटिङ र बाह्य सेवा प्रदायकबाट हुन सक्ने जोखिम व्यवस्थापनलाई पनि नीतिमा समेटेको छ ।
साइबर जोखिम कम गर्न बोर्डले ६ वटा रणनीति बनाएको छ । यसमा सूचना प्रविधि प्रणालीको विकास, बजारको सञ्चालन तथा अनुगमनमा प्रविधिको प्रयोग, साइबर अपराध न्यूनीकरण, लगानीकर्ता शिक्षामा प्रविधिको प्रयोग र केन्द्रीय तथ्यांक प्रणालीको विकासलगायत विषय समेटिएका छन् ।
केही समयअघि नेप्सेमा र्यान्समवेयर आक्रमण भएपछि बोर्डले साइबर सुरक्षालाई प्राथमिकतामा राख्दै नयाँ नीति ल्याएको हो ।
नीति कार्यान्वयन भए नभएको निगरानी बोर्डले गर्नेछ । यसका लागि बोर्डमा पाँच सदस्यीय सूचना प्रविधि नीति कार्यान्वयन समन्वय समिति गठन गरिने व्यवस्था गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया