काठमाडौंमा वायु प्रदूषणको जोखिम बढ्दै, महानगरले दियो यस्तो चेतावनी

लोकपथ
14
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले जाडो मौसममा वायु प्रदूषण बढ्न सक्ने भन्दै नगरवासीलाई सचेत रहन आग्रह गरेको छ ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै प्रदूषण बढाउने गतिविधि नगर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो ।

महानगरका अनुसार सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा निर्माणस्थलबाट उड्ने धुलो, उद्योग कलकारखानाको धुवाँ र खुला ठाउँमा फोहोर जलाउँदा वायु प्रदूषण बढ्ने गरेको छ ।

जाडो मौसममा चिसोका कारण हावामा रहेको धुवाँ र धुलो सजिलै फैलिन नसक्दा प्रदूषणको मात्रा बढ्ने महानगरले जनाएको छ । यसबाट बालबालिका, ज्येष्ठ नागरिक, दम तथा श्वासप्रश्वासका बिरामी बढी जोखिममा पर्ने महानगरको भनाइ छ ।

प्रदूषण नियन्त्रणका लागि महानगरले सवारीसाधनको नियमित मर्मतसम्भार गर्न, निर्माण सामग्री सडक तथा फुटपाथमा नराख्न र सामग्री ओसारपसार गर्दा धुलो नउड्ने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

त्यस्तै, प्लास्टिकजन्य तथा अन्य फोहोर खुला ठाउँमा जलाउन पूर्ण प्रतिबन्ध लगाइएको महानगरले जनाएको छ । नियमविपरीत फोहोर जलाउने र अत्यधिक धुवाँ निकाल्ने सवारीसाधन सञ्चालन गर्नेलाई कानुनी कारबाही गरिने चेतावनी पनि दिएको छ ।

महानगरले उद्योग, कलकारखाना तथा अस्पताललाई प्रदूषण नियन्त्रणसम्बन्धी मापदण्ड पालना गर्न र प्रदूषण कम गर्ने उपकरण प्रयोग गर्न निर्देशन दिएको छ ।

साथै, घरबाहिर निस्कँदा मास्क प्रयोग गर्न र वायु प्रदूषणबाट बच्न आवश्यक सावधानी अपनाउन महानगरले नगरवासीलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?