रुस-युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

लोकपथ
42
Shares

काठमाडौं । रुस र युक्रेनका आपत्कालीन चेतावनी प्रणालीमा साइबर आक्रमण भएपछि दुवै देशले एकअर्कामाथि आरोप लगाएका छन् । अक्टोबर २७ देखि नोभेम्बर १ सम्म लागू युद्धविराम समाप्त भएसँगै दुई देशबीच सैन्य तनाव पुनः बढ्ने चिन्ता देखिएको छ ।

रुसको आपत्कालीन मन्त्रालयले आफ्नो मोबाइल एपमा भएको साइबर आक्रमणबाट सर्वसाधारणलाई ड्रोन आक्रमणलगायत खतराबारे गलत सूचना पठाइएको जनाएको छ । यसअघि युक्रेनको चेतावनी प्रणालीमा पनि विकिरणको खतरा रहेको गलत सूचना देखिएको थियो । युक्रेनले यसमा रुसको हात रहेको आरोप लगाए पनि मस्कोले भने आफ्नो प्रणालीमाथिको आक्रमणमा कसैलाई दोष दिएको छैन ।

युक्रेनी मानव अधिकार आयुक्त दमित्रो लुबिनेट्सका अनुसार युद्धविरामले रुसी नियन्त्रणमा रहेको ओलेस्की सहरमा मानवीय सहायता अभियान सञ्चालन गर्न सहयोग गरेको थियो । तर, युद्धविरामका क्रममा रुसी सेनाले थप सैनिक परिचालन, गोलाबारुद भण्डारण र निगरानी ड्रोनमार्फत सूचना सङ्कलन गरेको एक युक्रेनी सैन्य अधिकारीले दाबी गरेका छन् ।

युद्धविराम समाप्त भएपछि खेरसन क्षेत्रका गभर्नर ओलेक्सान्डर प्रोकुडिनले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् । यसैबिच रुसले आफ्नो औद्योगिक प्रतिष्ठानमा युक्रेनी ड्रोन आक्रमण भएको जनाएको छ भने युक्रेनी सञ्चारमाध्यमले कोस्टोभो तेल प्रशोधन केन्द्र लक्षित भएको उल्लेख गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी तेल प्रशोधन केन्द्रमाथिको आक्रमण रोक्न युक्रेनको ऊर्जा पूर्वाधारमाथिका रुसी हमला पनि रोकिनुपर्ने बताए । रुसी आक्रमणका कारण युक्रेनका विभिन्न क्षेत्रमा विद्युत् कटौती भएको छ । अमेरिकी मध्यस्थतामा रोकिएको रुस–युक्रेन वार्ता यसै महिना पुनः सुरु गर्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?