साइबर आक्रमणको प्रयासपछि अमेरिकी निर्वाचन आयोगको अनलाइन प्रणाली बन्द

लोकपथ
0
Shares

काठमाडौं । अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी सङ्घीय निर्वाचन आयोग (एफइसी) को विद्युतीय फाइलिङ प्रणालीमा अवरोध उत्पन्न भएको छ । प्रणालीमा अनधिकृत प्रवेशको प्रयास भएपछि अनलाइन सेवा अस्थायी रूपमा बन्द गरिएको रोयटर्सले जनाएको छ ।

प्रणालीमा आएको समस्याका कारण राजनीतिक दल तथा समितिहरूलाई २४ घण्टा र ४८ घण्टाभित्र बुझाउनुपर्ने चुनावी खर्च विवरण दर्ता गर्न कठिनाइ भएको छ । आयोगका सूचना प्रविधिसम्बन्धी कर्मचारीहरू सेवा पुनः सञ्चालन गर्न खटिएका छन् । यसअघि सार्वजनिक गरिएका विवरण भने वेबसाइटमा हेर्न सकिने जनाइएको छ ।

एफइसीले उम्मेदवार तथा राजनीतिक समितिहरूको चुनावी खर्चको अभिलेख राख्ने जिम्मेवारी सम्हाल्छ । आयोगले प्रत्यक्ष रूपमा निर्वाचन सञ्चालन नगर्ने भएकाले उक्त अवरोधले मतदाताको मतदान गर्ने क्षमतामा प्रत्यक्ष असर पार्ने अपेक्षा गरिएको छैन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले कङ्ग्रेसमा आफ्नो बहुमत कायम राख्न सक्छ वा सक्दैन भन्ने निर्धारण गर्ने निर्वाचनअघि यो घटना भएको हो । ट्रम्पले निर्वाचन निष्पक्ष भए परिणाम स्वीकार गर्ने बताएका छन् । उनले मतदाता ठगीसम्बन्धी सूचना दिएर दोषीलाई पक्राउ तथा सजाय दिलाउन सहयोग गर्नेलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा पनि गरेका थिए ।

आगामी निर्वाचनमा अमेरिकी प्रतिनिधिसभाका सबै ४३५ सिट र सिनेटका करिब एकतिहाइ सिटका लागि प्रतिस्पर्धा हुँदैछ । सीबीएस न्युजको सर्वेक्षणअनुसार डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभामा २२९ सिट जित्न सक्ने अनुमान गरिएको छ ।

अक्टोबर २१ देखि २३ सम्म दुई हजार ३५५ अमेरिकी वयस्कबीच गरिएको सर्वेक्षणमा मुद्रास्फीति, बढ्दो मूल्यवृद्धि र आर्थिक चिन्ता मतदाताका प्रमुख मुद्दाका रूपमा देखिएका छन् । सर्वेक्षणले डेमोक्रेटिक मतदातामा मतदानप्रतिको प्रतिबद्धता बढी रहेको पनि देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?