अदालत र राज्यका निकायलाई बिचौलियामुक्त बनाउनुपर्छ : महामन्त्री पौडेल

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अदालत, सरकार र राज्यका विभिन्न निकायसँग जोडिएको बिचौलिया प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस प्रकरणलाई सामान्य रूपमा लिन नहुने बताए । उनले घटनामा जोडिएका सबै पक्षको भूमिका निष्पक्ष रूपमा अनुसन्धान हुनुपर्ने बताए ।

पौडेलले सरकार आफैँसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठेको भन्दै छानबिनबाट सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।

उनले अदालत, सरकार, प्रहरी प्रशासनलगायत राज्यका महत्त्वपूर्ण निकायलाई बिचौलियाको प्रभावबाट मुक्त बनाउन आवश्यक रहेको पनि बताए ।

त्यस्तै, बिचौलिया प्रकरण, पत्रकारमाथिको हस्तक्षेप, प्रहरी प्रशासनको भूमिका र न्यायालयसँग जोडिएका विवादबारे छलफल गर्न संसद्को बैठक तत्काल बोलाउनुपर्ने उनको माग छ ।

पौडेलले पत्रकार तथा सञ्चारमाध्यममाथि भइरहेको हस्तक्षेपप्रति पनि आपत्ति जनाए । दुई तिहाइको सरकार बनेपछि प्रेस स्वतन्त्रता अझ बलियो हुने अपेक्षा गरिए पनि पत्रकारलाई नियन्त्रण गर्ने, धम्क्याउने र समाचार लेखेकै आधारमा दबाब दिने काम भइरहेको उनको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?