नेपालमा ‘अर्नब’ चक्रवातको प्रभाव हट्यो, अब मौसम सफा र घमाइलो हुने

लोकपथ
7
Shares

काठमाडौं । नेपालमा ‘अर्नब’ चक्रवातको प्रभाव समाप्त भएसँगै देशभरको मौसममा क्रमिक सुधार आउन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अबका दिनमा अधिकांश स्थानमा मौसम सफा र घमाइलो हुँदै जानेछ ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार आइतबारदेखि नै मौसममा उल्लेखनीय सुधार देखिएको छ । पछिल्लो २४ घण्टामा मकवानपुर, सिन्धुली, सिन्धुपाल्चोक र सुर्खेतका एक–दुई स्थानमा छिटपुट वर्षा भए पनि अन्य क्षेत्रमा ठूलो वर्षा भएको छैन ।

आइतबार बिहान तराईका विभिन्न भूभागसहित काठमाडौँ र पोखराका उपत्यकामा बाक्लो हुस्सु तथा कुहिरो लागेको थियो । तर, दिउँसो हुँदै जाँदा हुस्सु क्रमशः हट्दै गएको विभागले जनाएको छ । लुम्बिनी प्रदेशको तराई क्षेत्रमा लागेको हुस्सु पनि चाँडै हट्ने अनुमान गरिएको छ ।

आइतबार दिउँसो पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहे पनि समग्रमा मौसम सफा रहनेछ । हिमाली र पहाडी क्षेत्रका करिब १० प्रतिशत स्थानमा मात्र हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद् अधिकारीले बताएका छन् ।

त्यस्तै, सोमबार पनि देशभरको मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ । बिहान तराई, उपत्यका तथा खोँचहरूमा हुस्सु लागे पनि आइतबारको तुलनामा कम हुने र छिट्टै हट्ने सम्भावना छ । दिउँसो हिमाली, पहाडी तथा लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा छिटपुट वर्षा हुन सक्ने भए पनि साँझदेखि मौसम थप सुधार हुँदै जानेछ ।

चक्रवातको प्रभाव पूर्ण रूपमा हटेसँगै मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनका लागि ‘हरियो रङ’ को चेतावनी जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?