काठमाडौं । सरकारले नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने उद्देश्यले चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धन गर्ने तयारी गरेको छ ।
यसका लागि सरकारले कार्यदल गठन गरी आवश्यक काम अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको बैठकले चिकित्सा सेवा पर्यटनको विकास र प्रवर्द्धनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको बैठकमा सम्बन्धित मन्त्रालयका सचिव, निजी अस्पतालका सञ्चालक तथा प्रतिनिधिहरू सहभागी थिए ।
बैठकमा गुणस्तरीय र सुलभ उपचारका लागि नेपाल आउने विदेशी बिरामीलाई लक्षित गरी चिकित्सा सेवा पर्यटनलाई व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो ।
यसका लागि आवश्यक नियमनकारी संरचना तयार गर्ने, अस्पतालको गुणस्तर र बिरामी सुरक्षासम्बन्धी मापदण्ड निर्धारण गर्ने तथा विदेशी बिरामी र उनीहरूका सहयोगीलाई मेडिकल भिसाको व्यवस्था गर्ने विषयमा पनि छलफल भएको छ ।
सरकारले चिकित्सा सेवा पर्यटनको विकासबाट विदेशी मुद्रा आर्जन बढाउनुका साथै नेपाली नागरिक उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरेको छ । यसले देशभित्रै विशेषज्ञ स्वास्थ्य सेवाको विकास र विस्तारमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।
नेपाललाई चिकित्सा उपचारका लागि भरपर्दो गन्तव्यका रूपमा स्थापित गर्न सरकारले आवश्यक नीतिगत तथा संस्थागत सुधारलाई प्राथमिकता दिने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया