काठमाडौं । इङ्ग्ल्याण्डका अनुभवी क्रिकेटर डेभिड मलान काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजबाट खेल्ने भएका छन् । चितवन राइनोजले आक्रामक तथा स्थिर ब्याटिङका लागि परिचित मलानलाई पुनः टोलीमा आबद्ध गरेको हो ।
एनपीएलअन्तर्गत आज चितवन राइनोज र विराटनगर किङ्ग्सबीच मध्याह्न प्रतिस्पर्धा हुँदैछ। उक्त खेलमा मलानले चितवनको ब्याटिङलाई मजबुत बनाउने अपेक्षा गरिएको छ । चितवन राइनोजका निर्देशक प्रताप देवकोटाले मलानलाई पुनः टोलीमा आबद्ध गरिएको जानकारी दिएका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभवी ब्याटरका रूपमा परिचित मलानले गत संस्करणको एनपीएलमा पनि चितवन राइनोजबाट खेलेका थिए । उनी सन् २०२२ मा इङ्ग्ल्याण्डले टी–२० विश्वकप जित्दा टोलीका महत्त्वपूर्ण सदस्य थिए। बायाँहाते ब्याटर मलान लेगब्रेक बलिङसमेत गर्छन् ।
मलानले टेस्ट क्रिकेटमा एक हजार ७४ रन बनाएका छन् । टेस्टमा उनको उच्चतम व्यक्तिगत स्कोर १४० रन रहेको छ। त्यस्तै, ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा उनले एक हजार ४५० रन बनाएका छन् भने यस प्रारूपमा उनको उच्चतम स्कोर पनि १४० रन रहेको छ ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६२ खेल खेलेका मलानले एक हजार ८९२ रन बनाएका छन् । यस प्रारूपमा उनको उच्चतम व्यक्तिगत स्कोर १०३ रन हो । उनी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० अन्तर्राष्ट्रिय ब्याटिङ वरियतामा शीर्ष स्थानमा पुगिसकेका खेलाडी हुन् ।
एनपीएलको पहिलो संस्करणमा चौथो स्थान हासिल गरेको चितवन राइनोज दोस्रो संस्करणमा भने सातौँ स्थानमा सीमित भएको थियो । अनुभवी ब्याटर मलानको पुनरागमनसँगै यस संस्करणमा टोलीको प्रदर्शनमा सुधार आउने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया