चक्रवात ‘अर्णव’को प्रभावले भारी वर्षाको सम्भावना, मकवानपुरमा उच्च सतर्कता अपनाउन आग्रह

लोकपथ
0
Shares

हेटौँडा । बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातका कारण भारी वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विशेष बुलेटिनअनुसार कात्तिक ११ देखि १४ गतेसम्म मकवानपुरसहित बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जारी गरेको सूचनामा भारी वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बाढी आउने, कटान तथा डुबान हुने र पहिरो जाने जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रशासनले पाकेको धानबाली तथा अन्य कृषिउपज सुरक्षित रूपमा भित्र्याउन र वर्षा भइरहेको समयमा बाली नकाट्न अनुरोध गरेको छ । साथै नदी तथा खोला नतर्न, माछा मार्ने र दाउरा सङ्कलन गर्नेजस्ता जोखिमपूर्ण गतिविधि नगर्न पनि आग्रह गरिएको छ ।

त्यसैगरी, त्रिभुवन राजपथ, कान्ति लोकपथ, हेटौँडा–काठमाडौँ छोटो मार्ग तथा ग्रामीण सडकमा पहिरोको जोखिम रहेकाले अत्यावश्यक कामबाहेक लामो दूरीको र रात्रिकालीन यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ । यात्रा गर्नुपर्ने अवस्था आएमा सडकको अवस्था बुझेर मात्र निस्कन सूचनामा उल्लेख गरिएको छ ।

प्रशासनले बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति तथा बिरामीलाई सुरक्षित स्थानमा राख्न र चौपायाको सुरक्षामा समेत ध्यान दिन आग्रह गरेको छ । साथै महत्त्वपूर्ण कागजात सुरक्षित राख्न र सम्भावित विपद्बाट जोगिन आवश्यक पूर्वतयारी गर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सम्भावित जोखिमबाट बच्न सतर्क रहन तथा विपद्को अवस्था आउनुअघि नै सुरक्षित स्थानको व्यवस्था गर्न प्रशासनले सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?