सरकारलाई नेता केसीको चेतावनी– ‘जनताको निराशा आक्रोशमा बदलिन सक्छ’

लोकपथ
28
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले सरकारको कार्यशैलीप्रति आलोचना गरेका छन् ।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य एवं पूर्वमन्त्री समेत रहेका नेता केसीले चाडपर्वका बेला महंगी धेरै हुँदा आम नागरिकमा निराशा व्यप्त भएको बताए । साथै सरकारले समयमा नै निराशा चिर्न नसके त्यही निराशा आक्रोशमा बदलिन सक्ने चेतावनी दिए ।

‘वर्तमान सरकारका गतिविधिप्रति जनतामा आक्रोश त होइन, व्यापक निराशा बढेको छ। निराशा आक्रोशमा कुनैपनि बेला बदलिन सक्छ भन्ने हेक्का सत्तारूढहरूमा हुनु जरुरी छ,’ उनले भनेका छन् ।

यसैगरी दसैँ सकिएको र तिहार तथा छठको आगमन भइरहेका बेला महंगी नियन्त्रणका लागि सरकार पूर्ण रुपमा असफल भएको उनको भनाइ रहेको छ ।

‘दसैँ–तिहार र छठजस्ता महान् चाडपर्वका बेला आम उपभोक्ताले महसुस गर्ने गरी बजार नियन्त्रण गर्न सरकार पूर्ण रूपमा असफल भएको छ। नाममात्रको अनुगमन र कालोबजारी गर्नेहरूलाई संरक्षणजस्तो देखिने अचाक्ली मूल्यवृद्धिका कारण मध्यमवर्गीय तथा विपन्न परिवारको चाडपर्व खल्लो बन्न पुगेको छ,’ उनले भनेका छन् ।

जेनजीहरुको माग अनुसार भएको गत फागुनको निर्वाचन र त्यही निर्वाचनबाट बनेको सरकारले देशका उर्जावान युवाहरुलाई निराश बनाएको उनको आरोप रहेको छ । साथै सरकार बन्नु भन्दा अघि विदेशबाट युवाहरुलाई फर्काउने बाचा सरकार सम्बद्ध शीर्ष नेताहरुले गरे पनि सरकार बनेपछि भने त्यसलाई पूर्ण रुपमा बेवास्ता गरिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?