काठमाडौं । दशैँको बिदामा प्रदर्शनमा आएका तीन नेपाली चलचित्रको बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ । सार्वजनिक रिपोर्टअनुसार पल शाह अभिनीत ‘आ बाट आमा–२’ सबैभन्दा धेरै कमाइ गर्ने चलचित्र बनेको छ ।
‘आ बाट आमा–२’ ले ४ करोड ११ लाख ४६ हजार ८४८ रुपैयाँ कमाएको छ। चलचित्रका १ लाख ३१ हजार ४९१ टिकट बिक्री भएका छन् ।
दीपकराज गिरी मुख्य भूमिकामा रहेको ‘६ माया छपक्कै–२’ कमाइका आधारमा दोस्रो स्थानमा छ । यस चलचित्रले २ करोड ७६ लाख ३९ हजार ६५ रुपैयाँ कमाएको छ। यसको ८२ हजार ७५९ टिकट बिक्री भएका छन् ।
त्यस्तै, समीर भट्ट मुख्य भूमिकामा रहेको ‘१२ गाउँ–२’ तेस्रो स्थानमा छ । चलचित्रले १ करोड ८३ लाख ९४ हजार ८८६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यसको ५७ हजार ९८३ टिकट बिक्री भएका छन् ।
तीनवटै चलचित्रको निर्देशन फरक निर्देशकले गरेका छन्। ‘आ बाट आमा–२’ को निर्देशन चन्द्र पन्तले गरेका हुन् भने ‘६ माया छपक्कै–२’ लाई दीपेन्द्र लामाले निर्देशन गरेका छन् । त्यस्तै, ‘१२ गाउँ–२’ को निर्देशन विराज भट्टले गरेका हुन् ।
‘आ बाट आमा–२’ मा पल शाहसँगै विपना थापा, मलिका महत, रिस्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत र साइग्रेस पोखरेललगायत कलाकारको अभिनय छ ।
‘६ माया छपक्कै–२’ मा दीपकराज गिरी, केकी अधिकारी र शनिसा भट्टराईलगायत कलाकार मुख्य भूमिकामा छन् ।
त्यसैगरी, ‘१२ गाउँ–२’ मा समीर भट्ट र विराज भट्टसँगै अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, कृशु शाही र वर्षा इटनीलगायत कलाकारले अभिनय गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया